
जनकपुरधाम : प्रदेश लोक सेवा आयोगहरूको पाँचौं सम्मेलन मधेश प्रदेशको जनकपुरधाममा सम्पन्न भएको छ । सम्मेलनमा उपस्थित आयोगका पदाधिकारीहरूले 'जनकपुरधाम घोषणापत्र, २०८२' जारी गर्दै प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवा र संगठित संस्थाका पदहरूमा योग्यता, निष्पक्षता, स्वच्छता र समावेशीताको आधारमा उम्मेदवार छनोट गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
घोषणापत्र अनुसार, आयोगहरूले परीक्षण विधि तथा कार्यविधिलाई व्यवस्थित गरी अझ प्रभावकारी र समसामयिक बनाउने र कार्यसम्पादनबाट प्राप्त अनुभवहरू साझा गर्ने प्रतिबद्धता जनाएको छ । सम्मेलनले पूर्व घोषणापत्रहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै निष्पक्षता र स्वच्छता प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
सम्मेलनले संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न आग्रह, र आवश्यक परिमार्जनका लागि पहल गर्ने, लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगमा समान पद र तह/श्रेणीका दरखास्त रोक्न सरकारसँग अनुरोध गर्ने, पाठ्यक्रम, परीक्षा प्रणाली र परीक्षण विधिको गुणस्तरीयता वृद्धि गर्न असल अभ्यास आदान प्रदान गर्ने, आयोगलाई प्रदेशको सशक्त संवैधानिक निकायको रूपमा परिचित गराउनेलगायतका निर्णय गरेको छ ।
सम्मेलनले समन्वय समिति गठन, कार्यालय स्थल विस्तार, पूर्व निर्णयहरूको कार्यान्वयन, अन्तर आयोग अवलोकन भ्रमण र उम्मेदवार पहिचान प्रणाली सञ्चालनलगायतका निर्णयहरू पनि गरेको छ ।
कार्यकाल समाप्त भएका आयोगका पदाधिकारीहरूलाई सम्मान गर्दै मधेश प्रदेशले सफल सम्मेलनको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरिएको छ । सेवा आयोग सुदूरपश्चिम प्रदेशले आगामी मङ्सिर १८ र १९ गते छैटौं सम्मेलन आयोजना गर्ने योजना सार्वजनिक गरेको छ ।