
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी संघीय निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिने संकेत गरेका छन् । निकट नेताहरूसँग उनले यसपटकलाई आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा हुने बताएका छन् ।
कांग्रेस सभापति देउवाले डडेल्धुराबाट नै आगामी प्रतिनिधिसभा निर्वाचनमा उभिन चाहेको जानकारी पछिल्ला केही दिनयता पार्टीभित्र तीव्र रूपमा फैलिएको छ । डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवाको इच्छा सार्वजनिक रूपमा व्यक्त भएपछि उनलाई सर्वसम्मत सिफारिस गर्ने तयारी भइरहेको छ ।
नेविसंघका नेता भुवन भट्टले मंगलबार बिहान सभापति देउवालाई भेटेका थिए । सो भेटमा पनि सभापति देउवाले अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेको भट्टले जानकारी दिए ।
यसअघि सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले महाराजगञ्जस्थित निवासमा देउवालाई भेटेका थिए । सो क्रममा पनि सभापति देउवाले साथीहरूले आफूलाई उठ्न भनेकाले आफू चुनावमा उठ्ने बताएको ती नेताले जानकारी दिए ।
कांग्रेसले अहिले विभिन्न तहबाट उम्मेदवार नाम सिफारिस संकलनको प्रक्रियामा छ । पार्टीको परिपत्रअनुसार मंसिर २५ भित्र प्रदेश समितिमा नाम पठाउनुपर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा एक महिलासहित तीन जनाको सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
२०४८ सालको संसदीय निर्वाचनदेखि निरन्तर डडेल्धुराबाट विजयी हुँदै आएका देउवा आगामी चुनावमा पनि आफ्नो ‘दृढ आधार’ कायम गर्न तयारी अवस्थामा देखिएका छन् ।