२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

ओलीको आरोप : देशले स्वतन्त्रता उपयोग गर्न पाएन

Nada
२०८३ कार्तिक ११ गते १५:५२
Shares
ओलीको आरोप : देशले स्वतन्त्रता उपयोग गर्न पाएन

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशले अहिले स्वतन्त्रता र स्वाधीनताको उपयोग गर्न नपाएको आरोप लगाएका छन् । उनले देशलाई यस अवस्थाबाट मुक्त गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् ।

पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा शपथ गराउँदै अध्यक्ष ओलीले देशमा स्वतन्त्रता र स्वाधीनता खण्डित भएको दाबी गरे ।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ उनले भने ।

ओलीले देशमा कोही पनि बोल्न नसक्ने अवस्था सिर्जना गरिएको, गुण्डाराज चलेको र सरकार बेलगाम फासीवादतर्फ अघि बढिरहेको आरोप लगाए । देशको अवस्था थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुपर्ने उनको भनाइ थियो ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै ओलीले देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउने जिम्मेवारी पार्टीको काँधमा आएको बताए ।

पार्टीको नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढेमात्र कार्यकर्तामा उत्साह भर्न, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन र पार्टीको जिम्मेवारी पूरा गर्न सकिने उनले बताए ।

गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव शंकर पोखरेलले गरेका थिए ।

कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो ।

ताजा खबर

सम्बन्धित खबर