
काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले उम्मेदवारी घोषणा गरेपछि शीर्ष नेतृत्वमा प्रत्यक्ष प्रतिस्पर्धा निश्चितजस्तै बनेको छ ।
मंसिर २७ गते भक्तपुर सल्लाघारीमा हुने महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बताइँदै आए पनि नेताहरूको गतिविधिले सर्वसम्मत नेतृत्व बन्ने सम्भावना कमजोर देखिएको छ । विधान संशोधनपछि पदाधिकारी संख्या घटेपछि अध्यक्षबाहेकका पदमा आकांक्षी बढेका छन्, जसले दुवै पक्षलाई १५ सदस्यीय प्यानल बनाउन कठिन बनेको छ ।
महासचिव पदमा पनि दुवै समूहबाट तीन–तीन नेताले आकांक्षा देखाएका छन् । ओली पक्षमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ अग्रपंक्तिमा छन्, तर ओलीले अहिलेसम्म कसैलाई पनि प्रत्यक्ष रूपमा ‘ग्रीन सिग्नल’ नदिएको भनिएको छ ।
उता ईश्वर पोखरेल समूहले ओली पक्षको प्यानल हेरेपछि मात्रै आफ्नो अन्तिम प्यानल बनाउने रणनीति बनाएको छ । उक्त समूहबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई महासचिवका प्रमुख दावेदार मानिएका छन् ।
पद बाँडफाँडमा आन्तरिक छलफल चलिरहे पनि पोखरेल समूहका नेताहरू सहमतिको आधारमै टिकट टुंगो लाग्ने बताउँछन् । यसैबीच ईश्वर पोखरेलले पार्टीभित्र लोकतान्त्रिकरण अभाव भएको र संगठन गुटगत बनेको विवरणसमेत ओलीलाई बुझाएका छन् ।
सधैं संस्थापनसँगै रहेर उच्च पद सम्हाल्दै आएका पोखरेल यसपटक ओलीलाई सीधा चुनौती दिँदै अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।