
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले मंगलबार कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो ।
भेटमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शान्तिपूर्ण वातावरणमा निर्वाचनका लागि शुभकामना दिएका थिए । उनले भने, ‘जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ, हाम्रो शुभकामना छ ।’
श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही मंसिर १६ गने ९५ वर्षको उमेरमा निधन भएको थियो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको र ती भ्रामक रहेकाबारे प्रधानमन्त्री कार्कीलाई स्पष्ट गरेको जनाइएको छ ।
विभिन्न सञ्चारमाध्यमहरूले प्रधानन्यायाधीश श्रेष्ठ प्रधानमन्त्री बन्ने समाचार प्रकाशन गरेका छन् । –रासस