
काठमाडौं : जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार अझै पूर्ण रूपमा फिर्ता नआएको भन्दै राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपालले आसन्न निर्वाचनको सुरक्षा वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
काठमाडौंमा आयोजित “नेपालमा लुटिएका हतियारले आसन्न निर्वाचनमा पार्ने असर” विषयक पत्रकार सम्मेलनमा संगठनका पदाधिकारीहरूले भयरहित तरिकाले मतदान प्रक्रियामा सहभागी हुने अवस्था नभएको दाबी गरे ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता नभएसम्म भयरहित तरिकाले मतदान गर्ने वातारण हुनेमा आशंका पैदा भएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष फणिन्द्र नेपालले सरकारले १३/१४ सय हतियार तथा डेढ/दुई लाख गोली लुटिएकोमा आधा भन्दा बढी फेला परे पनि आधा भन्दा केही कम फेला नपरेको बताइरहेको स्मरण गराउँदै सुरक्षाकर्मीबाट लुटिएका सबै हतियार फिर्ता नभएसम्म भयरहित तरिकाले मतदान गर्ने वातारण नहुने बताए ।
उनले हतियार कसैले रमाइलो गर्न नलुटेको बरु भदौ २४ गते भन्दा अझ भयानक अवस्था सिर्जना गरी नेपालाई खरानी बनाउने ग्रान्डडिजाइनसहित कुनै राष्ट्र लागेको हुन सक्ने आशंका गरे ।
गृहमन्त्री ओम प्रकाश अर्यालले हतियार खोलाले बगायो भनेर केटाकेटीको जस्तो कुरा गरेको भन्दै उनले बगाएको भए प्रमाण देखाउन र फेला परेका हतियार पत्रकारका सामु सार्वजनिक गर्न चुनौति दिए ।
अध्यक्ष नेपालले आफूहरु सरकारको विरोधी नभएको, तर सरकारले जेनजी आन्दोलनको भावना अनुरुप काम नगरेको बताए । उनले अहिलेकै अवस्थामा चुनाव भए पुरानै दल दोहोरिन सक्ने बताए । जेनजीका माग पूरा गर्न आवश्यक परे अन्तरीम सरकार बनाएर संविधान संशोधन गर्नुपर्ने पनि उनले बताए ।
सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्दले सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता नभएसम्म भयरहित नरिकाले मतदान गर्ने वातावरण नहुने भएकाले सरकारले हतियार फिर्ता गर्न सहयोग गर्न सम्पूर्ण देशवासीलाई सार्वजनिक रूपमा आह्वान गर्नुपर्ने सुझाव दिए ।
उनले हतियार फिर्ता गर्ने अभियानमा आम नागरिक र सबै राजनीतिक दलले पनि आ-आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताए ।