
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गरिन् । उनले त्यसको सम्मानका साथ आफूहरुले एकचित्त भएर काम गरिरहेको बताइन् ।
सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाइ थियो । उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत बताइन् ।
मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताइन् ।