
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा ले राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेससँग गठबन्धन गर्ने पहल सुरु गरेको छ । मधेश प्रदेशमा एमालेलाई बाहिर राखेर कांग्रेस नेतृत्वमा सरकार गठन भएपछि दुवै दलबीच सहकार्यको संकेत देखिएको नेकपा नेता देव गुरुङ बताउँछन् ।
उनका अनुसार कृष्ण यादव नेतृत्वको मधेश सरकारलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्तिको साथ छ । मधेशबाट सुरु भएको सहकार्य अन्य प्रदेशमा पनि विस्तार हुने एकता सभामा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकेत गर्दै आएका छन् ।
२०८१ असारमा कांग्रेस–एमाले गठबन्धन बने पनि जेनजी आन्दोलनपछि सरकार ढलेको र कांग्रेस नयाँ विकल्पतिर गएको नेकपा नेताहरूको दाबी छ । मधेशमा नयाँ गठबन्धन बनेपछि कांग्रेससँग भित्री वार्ता चलिरहेको नेकपा एक नेताले बताए ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवासँग प्रदेशमा गठबन्धन निरन्तरता र राष्ट्रिय सभा चुनावमा सहकार्य प्रस्ताव गरे पनि देउवाले ठोस जवाफ दिएका नदिएको देउवानिकट स्रोत बताउँछ ।
तर, प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा कांग्रेस–एमाले एकतर्फ र नेकपा अर्कोतर्फ भएकाले राष्ट्रिय सभामा कांग्रेस–नेकपा गठबन्धन चुनौतीपूर्ण देखिने दुवै दलको आकलन छ ।
कांग्रेस प्रचार प्रमुख मीन विश्वकर्माका अनुसार विभिन्न दलसँग तालमेल सम्भव छ र केही पनि टुंगो लागेको छैन । राष्ट्रिय सभामा फागुन २० पछि १९ सिट रिक्त हुने छन्, जसमा माओवादी–एकीकृत समाजवादीका ९ सिट छन् । कांग्रेससँग सहकार्य भए सबै सिट जित्न सकिने नेकपा नेताहरूको दाबी छ ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुनेछ भने राष्ट्रिय सभाको माघ ११ गते हुँदैछ ।