२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पहिचान पक्षधर ४ पार्टीबीच एकता

shivam cement
२०८२ मंसिर २४ गते १९:००
Shares
पहिचान पक्षधर ४ पार्टीबीच एकता

बनियानी (झापा) : पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच एकता भएको छ । बुधबार झापाको विर्तामोडमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बूवान पार्टीबीच एकता भएको हो । 

एकतापछि पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ भएको छ । पार्टी एकता घोषणासँगै चारवटै पार्टीका नेतृत्वले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर)का पार्टी नेता सञ्जुहाङ पाङ्लुवा, कोचिला संघर्ष समितिको तर्फबाट पार्टी संयोजक त्रिनारायण राजवंशी र संघीय लिम्बूवान पार्टी नेपालका तर्फबाट अध्यक्ष मित्र लिङ्देनले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

पार्टी एकतासँगै जिम्मेवारी बाँडफाँट गरिएको छ । पार्टी अध्यक्षमा राजेन्द्र महतो, वरिष्ठ नेता सञ्जुहाङ पाङ्लुवा, उपाध्यक्षमा त्रिनारायण राजवंशी र मित्र लिङ्देन रहेका छन् । हाल कायम रहेको केन्द्रीय समिति एवं पदीय जिम्मेवारी एकीकृत पार्टीमा सहमतिका आधारमा कायम गरिने एकता घोषणा कार्यक्रममा जनाइएको छ । 

चार वटा पार्टीबीच बीच गहन छलफल र विचार विमर्शपछि तीन बुँदामा सहमत भई पार्टी एकता गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए । ‘जनताले खोजेको परिवर्तन र चाहनालाई पूरा गर्न हामी एकीकृत भएका हौं,’ उनले भने, ‘मुलुक परिवर्तनको प्रश्रव पीडामा छ, मुलुकलाई त्यो पीडाबाट मुक्त बनाउन र जनतालाई चाहेको परिवर्तन ल्याउनका लागि हामी एकजुट भएका हौं ।’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी सहभागी हुने बताउँदै उनले परिवर्तनको लक्ष्यलाई पूरा गर्न निर्वाचनलाई उपयोग गर्ने उल्लेख गरे । ‘निर्वाचनमा सहभागी भएर मात्र लक्ष्य पूरा हुँदैन,’ उउनले भने, ‘अधिकार र पहिचानका लागि संसद्को रोस्टममा पुगेर खबरदारी गर्छौं ।’

विचार र विकल्पसहितको क्रान्तिका लागि जनताको ताकत सञ्चित गर्न अब जनतासमक्ष जाने अध्यक्ष महतोको भनाइ छ । नवगठित पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पाङ्लुवाले पहिचान र परिवर्तनको मुद्दालाई स्थापित गर्न सबै पहिचान पक्षधर एकजुट भएर शक्ति निर्माणमा लाग्नुपर्ने बताए । उनले एक भएर नयाँ सोचका साथ अघि बढ्न पार्टी एकता गरिएको उल्लेख गरे । 

पार्टी उपाध्यक्ष मित्र लिङ्देनले जेनजी आन्दोलनपछि मुलुकले नयाँ परिवर्तन चाहेकाले पार्टी एकीकरण गरी परिवर्तनका पक्षमा आफूहरू उभिएको उल्लेख गरे । –रासस

सम्बन्धित खबर