
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेनजी समूहबीच धक्कामुक्का भएको छ ।
बुधबार बेलुकी सरकार र जेनजीबीच सम्झौतामा हस्ताक्षर भएलगत्तै उनीहरूबीच धक्कामुक्की भएको हो ।
हस्ताक्षर भएपश्चात् प्रधानमन्त्रीले जेनजीको नाममा सम्बोधन गरेकी थिइन् । उनले २० मिनेट सम्बोधन गरेर बाहिरिए लगत्तै सिंहदरबारमा पुगेका जेनजी समूहहरूबीच धकेलाधेकल भएको छ ।
उनीहरूले भ्रष्टाचारी र आन्दोलनमाथि बल प्रयोग गर्ने तत्कालीन सरकार प्रमुखलाई कारबाही गर्न प्रधानमन्त्री कार्की चुकेको भन्दै विरोध गरेका थिए ।
जेनजी समूहको एकपक्ष प्रधानमन्त्रीको बचाउमा उत्रिएपछि धक्कामुक्का भएको थियो ।
सरकार र जेनजीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ भने जेनजी आन्दोलनलाई जनआन्दोलनको आधिकारिक मान्यता दिइएको छ ।
गत भदौ २३–२४ गते जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गरेको थियो ।
त्यसपछि सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ ।