
बर्दिया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. १ ले चार जनाको नाम सिफारिस गरेको छ । मंसिर २३ गते बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय परिपत्र अनुसार चार जनालाई प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा नाम सुझाएको हो ।
नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. १ का सभापति मुक्तिनाथ यादवका अनुसार सिफारिसमा केन्द्रीय सदस्य तथा पूर्व सांसद संजय गौतम, रत्ना थारु, महेन्द्र कुमार शर्मा र गंगाधर पौडेल परेका छन् ।
सञ्जय गौतम २०७०, २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । २०७४ को चुनावमा उनले बामदेव गौतमलाई पराजित गरेका थिए । तर २०६४ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए ।
सिफारिसमा परेका महेन्द्र कुमार शर्मा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य हुन् । रत्ना थारु र गंगाधर पौडेल कांग्रेसका महासमिति सदस्य हुन् ।
प्रतिनिधि सभा समानुपातिकतर्फ मिश्रीलाल यादव, तिलक बहादुर बुढाक्षेत्री, लक्ष्मी ढकाल, रहिस अहमद सिद्धिकी, गोविन्दप्रसाद थारु, कालुराम बिक र पुष्पलाल श्रेष्ठको नाम सिफारिस गरिएको सभापति यादवले बताए ।
त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस बर्दियाबाट सभापति अरुण प्रकाश सिंह राठोर, महेन्द्र राज तिवारी र जावेदा खातुनको नाम सिफारिस गरिएको छ । जावेदा खातुन २०७९ सालमा कांग्रेसबाट समानुपातिक सदस्य रहेकी थिइन् ।