
काठमाडौँ : नेकपा एमालेको ११औं महाधिवेशन आउँदो शनिबारदेखि सुरु हुँदैछ । मुलतः नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक नेतृत्वमा आउन चाहेका छन् भने उनलाई रोक्न बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाउँदै छन् ।
ओली र पोखरेल दुवै पक्ष प्यानल बनाएरै प्रतिस्पर्धा गर्ने तयारीमा छ । पार्टी केन्द्रीय सदस्यमा युवा नेताको डेब्युको चर्चासँगै पदाधिकारीको आकांक्षा राख्ने नेताहरुको संख्या पनि ठूलै छ । दुबै समूहलाई टिम व्यवस्थापन सहज देखिँदैन् । तीन महिनाअघि २०–२२ भदौंमा गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय संख्याको घटाउने तथा स्थायी कमिटी हटाउने निर्णय लिएको थियो । तर, नेता व्यवस्थापनका लागि विधान संशोधन गरेर कमिटी बढाउनुपर्ने स्थितिमा अध्यक्ष ओली पुगेका छन् ।
महाधिवेशनमा नेतृत्व दाबीको सरगर्मीका बीच चर्चामा छन्, दुई पूर्वएमाले नेताहरु माधव नेपाल र भीम रावल । नेपाल नवौँ महाधिवेशनमा अध्यक्ष ओलीसँग पराजित भएका थिए भने रावल १०औँ महाधिवेशनमा । तर, दुबै अहिले एमालेमा छैनन् । त्यसैले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने नेताहरुले पराजित भएपछि पार्टी छाड्ने त हैनन् भन्ने चासो पनि देखिन्छ । बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी सचिवालयमा आफू अध्यक्षमा उठ्ने घोषणा गर्दै ओलीले प्रतिस्पर्धाका लागि तयार रहेको तर नेपाल र रावलजस्तो नगर्नू भनेका थिए । बरिष्ठ नेता पोखरेल महाधिवेशनको नतिजा स्वीकार्ने र एमालेमै रहने प्रष्टिकरण दिँदै हिड्नुपरेको छ ।
बुधबार केही सम्पादकहरुसँगको छलफलमा पनि उनले सोही प्रतिक्रिया दिए । महाधिवेशनमा पराजित भए पनि आफूहरू एमालेमै रहने स्पष्ट पारे । प्रतिष्पर्धामा जानेहरूले पराजयलाई पनि स्विकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफूहरू सचेत रहेको उल्लेख गर्दै उनले भने, ‘प्रतिस्पर्धा गर्नेले जित्दा खुशी हुने मात्र होइन्, हार्दा स्वीकार पनि गर्नुपर्छ । माधव नेपाल, भीम रावलहरूको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन ।’
महाधिवेशनमा आफूहरू विजय हुने विश्वास व्यक्त गर्दै पराजय भए पनि एमाले नै भएर काम गर्ने कुरामा किञ्चित तलमाथि नहुने बताएका छन् । ‘एउटा समस्या हामीमा के छ भने प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने । यो राजनीतिक संस्कारमा रहेको कमजोरी हो । हामी दृढतापूर्वक के कुरामा उभिन्छौं भने प्रतिष्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार गरिन्छ’ पोखरेलले भने ।
पार्टी सचिव योगेश भट्टराईले महाधिवेशनबाट बरिष्ठ उपाध्यक्ष पोखरेल अध्यक्षमा निर्वाचित हुने र अध्यक्ष ओलीलाई पनि रावल वा नेपाल बन्नु नपर्ने बताए । ‘ईश्वर कमरेड अध्यक्ष हुनुहुन्छ । हामीले अध्यक्ष ओलीलाई पनि संरक्षक वा अभिभावककै रुपमा सम्मान गरेर अघि बढ्छौं’ उनले भने, ‘ओली कमरेडलाई भीम रावल वा माधव नेपाल बनाउँदैनौं ।’
नेपाल र रावल दुबै हाल नेपाली कम्युनिष्ट पार्टीमा छन् । नेता रावलले आफूले एमाले छाडेको नभइ सदस्यता खोसिएकोभन्दै यो चर्चाबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।
ओलीबाहेक जोकोहीलाई स्वीकार्ने
बरिष्ठ नेता पोखरेलले महाधिवेशनमा नेतृत्व सर्वसम्मत गराउन अध्यक्ष ओलीले छाड्नुपर्ने बताए । ओलीले छाड्ने स्थितिमा बरु आफू उनले अघि सारेका नेतालाई स्वीकार्न तयार रहेको पनि उनले बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको बताए । ‘प्यानल बनाउने, नबनाउने भन्ने कुरा होइन । यो उम्मेदवारी कुनै झ्वाँक झ्वाँकमा गरिएको विषय होइन । हामीले पार्टीको बैठकमा औपचारिक रुपले जानकारी पनि गराएको हो’ उनले भने, ‘सार्वजनिक रुपमा पनि हो । हामी कुनै अस्वभाविक रुपमा प्रस्तुत भएको होइन । पार्टी अध्यक्षसँग मैले नै कुरा गरेर केन्द्रीय कार्यालयमा औपचारिक रुपमा दर्ता गरेको हो ।’