
दोहा कतार : पर्वत जलजला समाज कतारले अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदान प्रदानसहित सांगीतिक कार्यक्रम गर्ने भएको छ । पर्वत जिल्ला जलजला गाउँपालिकाबाट कतारमा आएर बसोबास गरेका जलजलावासीहरूको साझा संस्था जलजलाले कतारमा स्थापित विभिन्न संघ-सस्थासँगको पारस्परिक सम्बन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ वनभोज, सांगीतिक कार्यक्रमसहित अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाउन लागेको हो ।
संगीतमय माहोलका बीच वनभोजलाई स्मरणयोग्य बनाउने गरी तयारीलाई तीव्रता दिइएको छ । शुक्रबार सहानीयामा अवस्थित अलदोसरी पार्कमा आयोजना हुने कार्यक्रममा कतारमा रहेका एक दर्जन कलाकारहरूले चुट्का, टप्पा तथा मयुर नृत्यसहित विभिन्न विधामा सांगीतिक प्रस्तुति दिने समाजका अध्यक्ष देभाराज कार्कीले मध्यान्ह दैनिकलाई जानकारी दिए । मध्याह्न सवा ११ बजेबाट सुरु हुने कार्यक्रममा सरिक हुन जलजलावासी तथा पर्वतसहित कतारवासी नेपालीलाई समाजले आग्रह गरेको छ ।
कार्यक्रममा जान आउनका लागी कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको व्यवस्था गरिएको छ । जसमध्ये सनैया २३ नम्बरबाट बिहान ९ बजे, प्लाजा मलबाट बिहान ९:३० बजे, एनाखालिदबाट १०:३० बजे छुट्नेछ भने यो रुटका लागि रामप्रसाद शर्मालाई ७०२१११७२ मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै अर्को बस सनैया २३ नम्बर बाट बिहान १०:०० बजे, प्लाजा मल बाट बिहान १०:३० बजे, मुन्ताजाबाट ११:०० बजे र ओम सलालबाट बिहान ११:३० बजे छुट्नेछ भने यो रुटका लागि दिनेश मल्ल (सक्षम) लाई ७१८०७६७८ सम्पर्क गर्न समाजले अनुरोध गरेको छ ।
सन् २०२३ मा स्थापना गरिएको समाजले जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थान र कतारमा समेत आफ्नो सक्रियता र आवश्यक ठाउँमा सहयोगलाई बढाउँदै लगेको छ ।
