
काठमाडौं : भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग गैरकानुनी असुली गरेको आरोपमा अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख सहसचिव तिर्थराज भट्टराईसहितविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७८ चैत ७ मा नियमित निगरानीपछि भट्टराई पक्राउ परेपछि प्रकरण सार्वजनिक भएको थियो । अभियोगपत्र अनुसार सहसचिव भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेजका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेजका दिपक भण्डारी, राम खड्का, सहायक कविता पौडेल र व्यवसायी खेम सुवेदी प्रतिवादी बनेका छन् ।
यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि जोडिएको थियो । अध्यागमनका कर्मचारीले म्यानपावर तथा तस्करी समूहसँग मिलेर सेटिङमार्फत असुली गर्दै आएका सूचनापछि अख्तियारले निगरानी थालेको थियो । निगरानीका क्रममा घुस बाँडफाँटको समिति र रकम लेखाजोखा राख्ने सफ्टवेयरसमेत भेटिएको थियो ।
यसअघि भूकम्प पीडितका लागि त्रिपाल खरिदमा अनियमितता आरोपमा परेका भट्टराई विशेष अदालतबाट सफाइ पाएर पुनः सेवामा फर्किएका थिए र २०७७ मा सहसचिवमा बढुवा भएका थिए ।