
बर्दिया : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बर्दिया क्षेत्र नं. २ मा नेपाली कांग्रेसले आरजु राणा देउवा र किशोर सिंह राठौरसहित १० जनाको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. २ को कार्यसमितिले प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सहमन्त्री किशोर सिंह राठौर र नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको हो ।
किशोर सिंह राठौर २०७० सालको संविधानसभा चुनावमा पराजित भएका थिए भने २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सांसद भएका थिए । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट तत्कालीन नेकपा माओवादीसँग गठबन्धन हुँदै संयुक्त उम्मेदवार बनेर विजयी भएका थिए ।
यस्तै, सिफारिस सूचीमा परेका अरुण प्रकाश सिंह राठौर २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए । अरुण सिंह राठौरलाई नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. १ बाट राष्ट्रिय सभाका लागि समेत सिफारिस गरिएको छ ।
प्रत्यक्ष तर्फ सिफारिस भएका अन्य व्यक्तिहरूमा जग्गाप्रसाद पाण्डे, मीनराज चौधरी, प्रशुराम थारु, मकरबहादुर सिजापति, रामचन्द्र थापा, विद्याप्रसाद खनाल र दीपक भण्डारी रहेका छन् ।
यसैगरी, समानुपातिक तर्फ नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. २ ले देवमान चौधरी, चन्द्रकला जिसी, तारा चौधरी, प्रमिला चौधरी, दुर्गा सापकोटा, तारा शुक्ला, तेजकुमारी थापा क्षेत्री (खाँ), मनिषा गुरुङ, सावित्री ढुङ्गाना, प्रेमबहादुर सुनार र भारती कामीको नाम सिफारिस गरेको छ ।
साथै, राष्ट्रिय सभाका लागि नेपाल प्रेस युनियनका केन्द्रीय निवर्तमान अध्यक्ष बद्री सिग्देल र मालती शाहको नाम पनि सिफारिस गरिएको छ ।