
काठमाडौं : मंसिर २७ मा ११ महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमालेमा दुई टिमबीच नोकझाेंक चलेको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली अध्यक्षमा तेहेरिने र उनलाई रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार घोषणा गरेसँगै दुई टिमका नेताबीच एकअर्काप्रति घोचपेच चलिरहेको छ । आफ्नै नाममा सर्वसम्मत नेतृत्व चयनको योजनामा रहेका ओलीलाई पोखरेलले मतदानमा जानुपर्ने बाध्यतामा पुर्याएका हुन् ।
यद्यपि अन्तिम घडीसम्म दुवै समूहले आफ्नो टिम बनाएका छैनन् । एकअर्काले दुवैको टिम पर्खेर बसेका छन् । ओलीले आफ्नो बनाइसकेपछि मात्रै पोखरेल टिम बनाउने तयारीमा छन् । अध्यक्ष ओलीका पक्षमा रहेका शीर्ष नेता व्यवस्थापनमा सकस मानिरहेका ओलीले अध्यक्षपछिको कार्यकारी पद महासचिवमा कसलाई पठाउने भन्ने निर्णय लिन नसकेको ओली समूहका नेताहरूले बताएका छन् ।
उनको पछि लागेका वर्तमान उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुुरुङ आगामी महासचिवका लागि व्यग्र दौडमा छन् । ओलीले शंकरलाई नै बनाउन चाहे पनि आफ्नै टिमका नेता विष्णु पौडेल शंकरका लागि सबैभन्दा ठुलो तगारो बनेका छन् । पौडेलले भए आफैं महासचिव हुने नभएर शंकरलाई बनाउन नदिने रणनीति लिएका छन् । उनी आफू नहुँदा प्रदीप वा पीएसलाई महासचिवमा अघि सार्ने योजनामा छन् । अध्यक्ष ओलीले पनि शंकर नहुँदा प्रदीपलाई अघि सार्न सकिने तहमा छलफल चलाएको एमालेका एक पदाधिकारीले बताए ।
उनले मध्यान्हसँग भने, ‘अध्यक्ष सकभर शंकरलाई नै अघि सार्ने कि भन्नेमा हुनुहुन्छ । तर उहाँको पक्षमा दोस्रो तहका नेता सकारात्मक नदेखिँदा उपमहासचिव प्रदीप ज्ञवालीलाई महासचिव बनाउने कि भन्नेमा पनि कुरा चलेकै छन् ।’
तर महासचिवका लागि विष्णु पौडेल, शंकर पोखरले, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बाको नाम छलफलकै क्रममा रहेको उनले बताए । त्यस्तै, अर्का अध्यक्षका प्रत्यासी ईश्वर समूहमा पनि महासचिवको पदमा एक भन्दा बढीको आकांक्षा छ । सो समूहबाट वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले दाबी गरेका छन् । यद्यपि उक्त समूहमा महाधिवेशन जितिहाल्ने संकेत नदेखेकाले नेताहरूको लडाइँ कम रहेको बताइएको छ । कतिपय नेताहरूले ओली टिममा नअटेका नेताहरूलाई आफ्नो समूहमा ल्याएर चुनाव लडाउने रणनीतिमा बसेको बताएका छन् ।
‘हामीले अहिले अध्यक्षको मात्रै उम्मेदवारी घोषणा गरेका छौं,’ स्थायी कमिटी सदस्य ठाकुर गैरेले भने, ‘अध्यक्षबाहेकका पदमा छलफल भइरहेको छ । हामीले अन्तिम समय आएपछि सबै पदमा टिम घोषणा गरेरै जाने चरणमा छौं ।’ ओली समूहमा नेता व्यवस्थापन घाँडो भइरहँदा ईश्वर पक्षमा मुख्य पदाधिकारीका लागि नै बलिया नेताहरू देखिएका छैनन् । तर उनीहरू ओलीलाई बलियो टक्कर दिने दाबी गर्दै आएका छन् ।