
काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोड्न आफूले कठोर कदम चाल्ने घोषणा समेत गरे । स्पेशल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाइ थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताए ।
उनले भने, ‘संगठित किसिमका जति पनि गिरोहहरु छन । तिनीहरुलाई पक्कै कठोर कारबाही गर्नुपर्छ । र, हामीले जुन मिडियामा देखिराखेका छौं । यो जालो तोड्नै पर्छ । यसका लागि एक खाले मेरो अनुभवले काम गर्छ भन्ने मलाई लागिराखेको छ । यसका लागि सहकार्य गर्नका लागि सम्बन्धित गृह प्रशासन र प्रहरीका साथीहरुसँग पनि मैले सहकार्य गर्नुपर्ने हुन्छ । स्पेशल टास्कफोर्स बनाएर पनि जान सकिन्छ कि । अव हामीलाई धेरै लामो लामो भाषण गरेर भन्दा पनि एक्शन आम नागरिकलाई सुशासनको प्रत्याभूति कम्तिमा अनुभूत गरुन् भन्ने किसिमले काम गर्ने योजना छ । ताकि उनीहरुले सरकारले केही गर्यो भन्ने अनुभूति गरुन् ।’
मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धि अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।