
दोहा, कतार : कोशी प्रदेश समन्वय परिषद्, कतारले कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थालाई निःशुल्क ह्विलचियर वितरण गरेको छ । “सामाजिक परिवर्तन, समृद्धिको आधार” भन्ने नारासहित मंगलबार विराटनगरस्थित प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय परिसरमा परिषद्का अध्यक्ष रुद्र शर्मा आचार्यको सभापतित्व तथा प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ह्विलचियर वितरण गरिएको हो ।
बिरामी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हिँडडुलमा कठिनाइ भोगिरहेका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको परिषद्ले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पराजुलीले प्रवासमा रहेर आफ्नो प्रदेशका नागरिकको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले यस्ता सामाजिक सेवामूलक पहलले सरकार, सामाजिक संस्था र समुदायबिचको सहकार्यलाई थप बलियो बनाउने धारणा व्यक्त गरे ।
परिषद्का अध्यक्ष आचार्यका अनुसार झापाको बाह्रदशी अस्पताल र बनियानी प्राथमिक स्वास्थ्य केन्द्र, मोरङको कोशी अञ्चल अस्पताल, सुनसरीको जिल्ला अस्पताल इनरुवा, उदयपुरको जिल्ला अस्पताल गाईघाट, इलामको जिल्ला अस्पताल, पाँचथरको जिल्ला अस्पताल फिदिम र ताप्लेजुङको जिल्ला अस्पताल फुङलिङलाई ह्विलचियर उपलब्ध गराइएको छ । अध्यक्ष आचार्यले यसबारे मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिएका हुन् ।
त्यसै गरी सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी र चैनपुर अस्पताल, तेह्रथुमको जिल्ला अस्पताल म्याङ्लुङ र प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजार, भोजपुरको जिल्ला अस्पताल भोजपुर र दिङ्गला नगर अस्पताल तथा खोटाङका जन्तेढुंगा र बराह पोखरी गाउँपालिकास्थित आधारभूत अस्पताललाई पनि ह्विलचियर प्रदान गरिएको आचार्यले बताए ।
कार्यक्रममा अध्यक्ष आचार्यले प्रवासमा रहेर पनि जन्मभूमि र प्रदेशप्रतिको दायित्व निर्वाह गर्दै कतारमा रहेका नेपालीको सहयोग र सहकार्यमा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गरिरहेको बताए । आवश्यकतामा रहेका नागरिकलाई सहयोग पुर्याउनु संस्थाको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम सफल बनाउन सहयोग तथा समन्वय गर्ने जिल्ला संस्था, सहयोगी दाता, अतिथि, सामाजिक अभियन्ता तथा सम्बन्धित सबैप्रति अध्यक्ष आचार्यले आभार व्यक्त गरे । सन् २०१७ मा स्थापना भएको परिषद्ले कतारमा रहेका नेपालीलाई एकताबद्ध गर्दै सामाजिक सेवा, मानवीय सहयोग तथा मातृभूमिको विकासमा योगदान पुर्याउँदै आएको छ ।