
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । मंसिर २१–२३ गते निवेदन दिएका १ सय दलमध्ये अन्तिम रूपमा ९३ वटा निर्वाचन चिन्ह वितरण गरिएको छ ।
समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका १ सय दलमध्ये ११ दललाई २०७९ प्रतिनिधिसभा निर्वाचनको मत परिणामअनुसार क्रम र चिन्ह दिइएको छ ।
पहिलो नम्बरमा नेकपा (एमाले)को सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पाँचकुने तारा, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी, पाँचौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हलो, छैटौं जनता समाजवादी पपार्टी (जसपा)को छाता, सातौंमा जनमत पार्टीको लाउडस्पिकर, आठौंमा नागरिक उन्मुक्तिको ढकिया, नवौंको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साइकल, दशौंमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को मादल, एघारौं राष्ट्रिय जनमोर्चा गिलास राखिएको छ ।
बाह्रौं नम्बरामा देश विकास पार्टीको लौरो र तरौं नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को खुलेको आँखा रहेको छ । बाँकी दललाई निवेदन दर्ता क्रमअनुसार क्रमसंख्या र चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।