
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास भएको बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनलाई संवोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रूपमा भूमिका खेल्ने बताए ।
‘केपी शर्मा अोलीका विरुद्धमा जुन प्रकारले प्रचारबाजी गरियो ।’ उनले भने ,‘एक प्रकारले भन्ने हो भने, २३ र २४ भदौको घटनामा हाम्रो पार्टीका अध्यक्षलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरियो ।’
महासचिव पोखरेलले पार्टीले युवाहरूलाई अगाडी बढाउने बताउँदै भने- ‘यो महाधिवेशनमा हामीले नवयुवाहरूलाई नेपालको राजनीतिको आधार स्तम्भको रूपमा अगाडी बढाउने प्रयास गरिसकेका छौँ र बन्दसत्रबाट यसलाई सुनिश्चित गर्दैछौं ।’