
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा (एमाले)को ११औं महाधिवेशनमा नेतृत्व पुस्तान्तरणलाई गम्भीर रूपमा उठाउनुपर्ने बताएका छन् ।
उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै उनले जेनजी आन्दोलन विस्फोटको जिम्मेवारी पछिल्ला ३०–३५ वर्षदेखि शासनमा रहेका सबै दलले लिनुपर्ने बताए ।
रास्वपा पनि सरकारमा रहँदा आफ्नो हिस्साको जिम्मेवारी स्वीकार गर्न तयार रहेको उनको भनाइ थियो ।
राज्यविहीनता जस्तो अवस्था सिर्जना भई प्रधानमन्त्री र मन्त्रीहरूलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्थामाथि आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले गहिरो विश्लेषण बिना समृद्धि सम्भव नहुने बताए ।
नेतृत्व पुस्तान्तरणको आवश्यकता सबैले बुझिसकेको भन्दै उनले एमालेले यसलाई उपयुक्त रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे र मुलुकको विकासका लागि सबै राजनीतिक शक्तिलाई सफलताको शुभकामना दिए ।