
काठमाडौं : नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकार अवैधानिक रहेको भन्दै समर्थन गर्न नसकिने बताएका छन् ।
नेकपा (एमाले)को ११औं महाधिवेशनलाई शुभकामना दिँदै उनले राजनीतिक दलबिना समृद्धि सम्भव नभएको र देशलाई कसैको अधीनमा लैजान नदिने बताए ।
विप्लवले देश जटिल अवस्थामा रहेकाले निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड दिए ।
एमालेमाथि प्रश्नहरू उठेको उल्लेख गर्दै उनले महाधिवेशनले ती प्रश्नको जवाफ दिन सफल भएको दाबी गरे ।
उनले साम्राज्यवादी शक्तिहरूले प्राकृतिक स्रोत दोहनका लागि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनताका पक्षमा अडान लिएकै कारण एमालेमाथि हमला भइरहेको बताए ।