
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनमार्फत पार्टीका गतिविधि, मूल्यांकन र भावी योजना सार्वजनिक गरेका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११औं महाधिवेशन उद्घाटन सत्रमा उनले पार्टीका गतिविधि, मूल्यांकन र भावी योजना सार्वजनिक गरेका हुन् ।
उनले प्रस्तुत गरेको सम्बोधनमा एमाले जनताको मनमा बस्ने, लोकतन्त्रमा अजेय र संगठनात्मक रूपमा स्थिरता भएको बताए ।
एमालेले संस्थापक, शहीद र अग्रजहरूको बलिदानको स्मरण गर्दै संविधान र लोकतन्त्रको मार्गमा देशलाई अघि बढाउने, युवापुस्ता र महिला नेतृत्वलाई प्रोत्साहित गर्ने तथा सामाजिक न्याय र समावेशितामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै, राष्ट्रिय सम्पदा, सार्वभौमसत्ता र नागरिक सुरक्षा सुनिश्चित गर्नु पार्टीको प्राथमिकता रहेको बताए ।
पार्टीले एकता, संगठनात्मक शक्ति र शान्तिपूर्ण बहसमार्फत देशको विकास र परिवर्तन सम्भव हुनेमा ओलीले १० सन्देश दिएका छन् ।
हेर्नुहोस् केपी शर्मा ओलीले दिएका १० सन्देश :
१. लोकतन्त्र र एमालेको अजेयता : एमाले जनताको मनमा बस्ने पार्टी हो र लोकतन्त्र अजेय छ; पार्टीको संगठन र नेतृत्व स्थिर छ ।
२. इतिहास र बलिदानको स्मरण : पार्टीका संस्थापक, शहीद, अग्रजहरूको बलिदानलाई कहिल्यै बिर्सने छैन र त्यसको आदर्शमा अघि बढ्ने प्रतिबद्धता ।
३. राजनीतिक स्थायित्व र संवैधानिकता : असंवैधानिक प्रतिनिधिसभा विघटन अस्वीकार्य छ, संविधान र लोकतन्त्रको मार्गमा देशलाई फर्काउनु आवश्यक छ ।
४. युवाप्रतिको समर्थन : नयाँ पुस्ता र युवा नेतृत्वलाई प्रोत्साहन गर्ने, उनीहरूको अधिकार, अवसर र प्रविधिमा पहुँच सुनिश्चित गर्ने ।
५. सुरक्षा र समृद्धि : प्रत्येक नागरिक, कृषक, उद्योगी, विद्यार्थी र आमाबाबुका लागि जीवन, रोजगार, शिक्षा र न्यायको सुरक्षा आवश्यक ।
५. विभाजन र प्रहारको सामना : पार्टीमाथि बाहिरी प्रहार भए पनि संगठनको एकता, साहस र अनुशासनको बलमा पार्टी स्थिर छ ।
७. सामाजिक न्याय र समावेशिता : दलित, अल्पसंख्यक, पिछडिएका वर्ग र महिलालाई मुख्यधारामा ल्याउने पार्टीको प्रतिबद्धता ।
८. देशभक्त र राष्ट्रिय स्वाभिमान : राष्ट्रिय सम्पदा, सार्वभौमसत्ता र राष्ट्रिय हितको संरक्षण पार्टीको प्राथमिकता ।
९. शान्तिपूर्ण परिवर्तन र बहसको पक्षधरता : हिंसा वा युद्ध समाज परिवर्तनको साधन होइन, लोकतन्त्रमा बहस र सहमतिबाट परिवर्तन सम्भव छ ।
१०. एकता र संगठनात्मक शक्ति : पार्टीको एकता महत्त्वपूर्ण, छुट्टाछुट्टै नभई एउटै लक्ष्यमा उभिँदा मात्रै राष्ट्रिय महाधिवेशन सफल र पार्टी सशक्त हुन्छ ।