
तानसेन (पाल्पा) : शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा आज थप एक जनाको मृत्यु भएको हो ।
निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्रममा आफैं व्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए ।
उनका अनुसार दुर्घटनामा नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्धिमाया विक, निस्दी–४ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङबासकी ४५ वर्षीया ओमकुमारी खाम्चाको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा आज बुद्धिमायाका श्रीमान् ३४ वर्षीय सुन्दर विकको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको उनले जानकारी दिए ।
दुर्घटनामा आठ जना घाइते भएका थिए । घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई उपचारपछि घर फर्काइएको जनाउँदै प्रहरी उपरीक्षक चौधरीले एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताए । उनका अनुसार सुन्दरको आज मृत्यु भएको छ । –रासस