
दोहा कतार : पर्वत समाज कतारले संस्था स्थापनाको २३औं वार्षिकोत्सव तथा वार्षिक साधारण सभा विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ ।
फूलबारी रेस्टुरेन्टको हलमा समाजका अध्यक्ष सन्तोष क्षेत्रीको सभाध्यक्षता तथा समाजका संस्थापक अध्यक्ष प्रताप गिरिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपालबाट आमन्त्रित अतिथि कलाकार अरुण सुनार र बुद्धिराम शर्माले सागीतिक प्रस्तुति दिए । सुनारले स्वः खेमराज गुरुङको वारी जमुना पारी जमुनाबाट प्रस्तुति राख्न सुरु गरे । उनले अल्झिँदो यो मन, कलिलो तामालाईसहित मन त नेपाली हो भन्ने गीतमार्फत आफ्नो प्रस्तुतिको बिट मारे ।

कार्यक्रमको अन्त्यमा स्टेज चढेका बुद्धिराम शर्माले आफ्नो रुमाल रुझाउँछुबाट सांगीतिक प्रस्तुति राख्न सुरु गरे । हावा चलोस् पात नझरोस्सहित आफ्ना पुराना हिट गीतहरू पेस गरे ।
सुन्तला फुल खेल्दै आयो भन्ने गीतमार्फत आफ्नो प्रस्तुतिको बिट मारेका उनले आफू १५ वर्षपछि दर्शकको मायाले स्टेजमा फर्किएको मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए । शर्माले १५ वर्षपछि नयाँ कोसेली लिएर बजारमा आउन लागेको समेत बताए ।
कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसहित पर्वतेहरूको बाक्लो उपस्थित रहेको कार्यक्रममा कतारमा रहेका दर्जनौं कलाकारले सागितिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले पर्वत भित्रैको अर्को एक संस्थाले सोही दिन कार्यक्रम जुधाउनु अशोभनीय भएको र दुई संस्थाबीच सहकार्य तथा एकता हुन आवश्यक रहेको बताए । उनीहरूले पर्वत समाज फुटेको जस्तो देखिएको हुँदा समाजमा मिलेर अगाडि बढ्न सुझाव दिएका थिए ।
सबै वक्ताहरूका धारणा ध्यानपूर्वक सुनेका कार्यक्रमका प्रमुख अतिथि गिरिले पर्वत समाज फुट्न टुट्न नसक्ने बताए । उनले वक्ताहरूलाई शुभकामना राख्न स्थान दिइएको हुँदा भाषणमार्फत समाजको आन्तरिक कुराहरूमा दखल अन्दाजी नगर्न चेतावनी दिँदै पर्वत समाजको स्थान र भर्खर गठित अर्को समाजलाई तुलना नगर्न समेत आग्रह गरे ।

गिरिले संस्थाको स्वायत्त अधिकार हुने हुँदा कतारमा पर्वत समाज एउटै मात्र रहेको धारणा राख्दै संस्थाविरुद्ध गलत गतिविधि गर्नेहरू समाजको आजीवन सदस्य रहिरहन नसक्ने स्पष्ट पारे ।
कार्यक्रममा कतारको कानुन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता मोहम्मद रमजान अलि मियाले व्याख्या गरे । उनले कतारमा रहँदै गर्दा श्रमिकहरूले कतारको आइडी (पताका) पासपोर्ट, हेल्थ कार्ड, लेबर कन्ट्रायक र एटिएम कार्ड अनिवार्य साथमा राख्नुपर्ने बताए । उनले प्रत्येक श्रमिकले आफ्नो मोबाइलमा अनिवार्य रूपमा मेट्रास २ सक्रिय बनाएर राख्नुपर्ने बताउँदै कतारमा मदिरा सेवन गरेर सवारी साधन नपाइनेतर्फ सजग गराएका थिए ।
समाजले गरेका कार्यप्रगति डिजिटल्ली र भिडियोमार्फत देखाइएको थियो भने समाजका कोषाध्यक्ष महेन्द्र चालीसेले ४७ हजार ५ सय ३८ रियाल आम्दानी गर्दै ४१ हजार ८ सय ५९ रियाल खर्चँदै ५ हजार ६ सय ७९ रियाल समाजमा बचत रहेको आयव्यय पेस गरेका थिए । कार्यक्रममा उपस्थितको कुल संख्यालाई लक्की ड्र मार्फत पर्वतको कुस्मामा रहेको दि क्लिफले निःशुल्क २ जनालाई प्रदान गरेको २ वटा बन्जी हान्ने टिकट र हार्नेस कम्पनीले जिपलाईमा साइकिलिङका लागि २ जनालाई प्रदान गरेको २ वटा निःशुल्क टिकट समेत खोलिएको थियो । उनीहरूलाई टिकटसहित एकरात बसोबासको समेत व्यवस्था सोही कम्पनीले गर्ने आयोजकले जानकारी दिए ।

कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष टिकाराम भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई समाजका सचिव सेवक घताने र सहसचिव तथा सांस्कृतिक संयोजक कृष्ण दर्लामीले सहजिकरण गरेका थिए ।
गंगा जमुना बिसी जुम्ल्याहा दिदीबहिनीले स्वागत नृत्य पेस गरेका थिए भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका कलाकारहरूले सोरठी गीतद्वारा स्वागत गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष क्षेत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद दिए । उनले आफ्नो कार्यसमिति सदैव एकता, सहयोग र सहकार्यमा प्रतिबद्ध रहेको बताए ।
समाजका ज्येष्ठ सदस्य नारायण रिमाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकार, प्रमुख अतिथिलाई पनि सम्मान गरिएको थियो । पर्वतमा जन्मिएर कतारको राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने सुधा थापालाई विशेष सम्मान गरिएको थियो ।

