२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अर्थतन्त्रको अवस्था : बाह्य सूचक बलियो, आन्तरिक सुस्त

shivam cement
छबि सापकोटा
२०८२ पुष १ गते ०६:३०
Shares
अर्थतन्त्रको अवस्था : बाह्य सूचक बलियो, आन्तरिक सुस्त

काठमाडौं : नेपालको बाह्यमा देखिएको निरन्तर सुधारले आर्थिक स्थिति बलियो देखिएको छ । नेपालमा राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा रेमिट्यान्स उच्च वृद्धि, पर्याप्त विदेशी विनिमय सञ्चितिले देशको शोधनान्तर स्थिति र चालु खातामा देखिएको बचतले समग्र आर्थिक स्थिति बलियो बनेको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

गत असारको तुलनामा यो १४ दशमलव १ प्रतिशतले बढेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । यस्तै, अमेरिकी डलरमा विदेशी सञ्चिति १० दशमलव ३ प्रतिशतले वृद्धिले बढेर २१ अर्ब ५२ करोड पुगेको छ । २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०८२÷८३ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २० दशमलव ८ महिनाको वस्तु आयात र १७ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । केही वर्षअघि विदेशी सञ्चिती सात महिनालाई मात्र पुग्ने अवस्थामा नेपाल आर्थिक संकटमा जाने चर्चाले राष्ट्र बैंकले आयातमा नै कडाइ गर्नुपरेको थियो । तर पछिल्लो समय रेमिट्यान्स, आयात र निर्यातमा देखिएको सुधारले आर्थिक स्थिति बलियो बनेको हो ।

बाह्य सूचकहरू बलियो हुँदै गर्दा आन्तरिक अर्थतन्त्रमा समेत सुधार हुन सकेको छैन । निजी लगानीकर्ताको मनोबल बढ्न नसक्दा कर्जा प्रवाह बढ्न सकेको छैन । कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा कर्जा प्रवाह १ दशमलव २ प्रतिशत मात्र गएको छ । ४ महिनामा ६५ अर्ब ४ करोड मात्र कर्जा गएको थियो । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब ४७ करोड कर्जा विस्तार भएको थियो । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव ६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव ४ प्रतिशत रहेको छ । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको र वित्त कम्पनीहरूका कर्जा प्रवाह १ दशमलव ३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव १ प्रतिशतले घटेको छ ।

यस्तै, नेपालको चालु खाता र शोधनान्तर स्थितिसमेत बलियो बनेको छ । चार महिनामा  चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोड बचतमा रहेको थियो । यस्तै रेमिट्यान्स आयातले अर्थतन्त्रलाई थप मजबुद बनाएको छ । आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ३१ दशमलव ४ प्रतिशतले रेमिट्यान्स बढेर ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ९ दशमलव ४ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । रेमिट्यान्स आएको मध्ये अमेरिकी डलरमा २५ दशमलव ३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ ।

सम्बन्धित खबर