२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

निर्वाचन महोत्सव बन्दैछ : सञ्चारमन्त्री खरेल

shivam cement
२०८२ पुष ३ गते १६:५१
Shares
निर्वाचन महोत्सव बन्दैछ : सञ्चारमन्त्री खरेल

ललितपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताएका छन् ।

गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले भने, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्सव होइन, अब महोत्सव बन्दैछ ।”

निर्वाचनका लागि सरकारले स्रोतसाधन र जनशक्तिको व्यवस्था गरेर तयारी गरिरहेको उनले जानकारी दिए । उनले भने, “मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ । सबैजसो राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पूरा गर्न सक्रिय भएको उल्लेख गरे ।

उनले तीन महिनामा ३० भन्दाबढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेका जानकारी दिँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको प्रष्ट पारे । मन्त्री खरेलले भने, ‘‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौं ।’’

‘डिस्कोर्स’का निष्कर्षलाई सरकारले ग्रहण गर्ने

सञ्चारमन्त्री खरेलले गोरखापत्र डिस्कोर्सबाट प्राप्त निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने प्रतिबद्धता जनाए । उनले भने, “जेनजीआन्दोलनपछिको पुनःनिर्माण र विकासको सन्दर्भमा मुलुकलाई समुन्नति तथा आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन यो डिस्कोर्सले महत्वपूर्ण भूमिका खेल्ने छ । डिस्कोर्सको निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्नेछ ।’’

गोरखापत्रको डिस्कोर्सले नेपाल बनाउने सन्दर्भमा ‘मिडिया’को भूमिका कुन हदसम्म हुन्छ भन्ने प्रभाणित गरेको उनको भनाइ छ । “मिडियाले सूचना र शिक्षा सम्प्रेषण मात्र गर्ने होइन मिडियाले डिस्कोर्स तयार गर्छ । विकासका लागि तालिम दिन्छ, मिडिया मिडियाको भूमिकामा मात्र नरहेर मुलु्क बनाउने भूमिका हुन्छ भन्ने मानक गोरखापत्र संस्थानले स्थापना गरेको छ”, उनले भने ।

सामाजिक सुरक्षा कोषमा आबद्धता 

राज्यबाट सञ्चालित सञ्चार गोरखापत्र संस्थानका सञ्चारकर्मी तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका  छन् । 

सञ्चारमन्त्री खरेलले सामाजिक सुरक्षा कोषमा आवद्धताको परिचयपत्र वितरण गरे । मन्त्री खरेलले आफूले मन्त्रालयको जिम्मेवारी लिएको भोलिपल्ट नै राज्यबाट सञ्चालित सञ्चारमाध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय लिएको र त्यसलाई गोरखापत्रले सुरुमै कार्यान्वयन गरेकोप्रति खुसी व्यक्त गरे ।

उनले भने,“सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने राज्यबाट सञ्चालित मिडियामा पहिलो बनेर सरकारको अभियानलाई साथ दिएकामा गोरखापत्र संस्थानलाई धन्यवाद दिन चाहन्छु ।”

संस्थानले १८० जना कर्मचारी तथा पत्रकारलाई सामाजिक सुरक्षामा आवद्धता गराउने जनाएको छ । मन्त्री खरेलले वर्षौंदेखि अड्किएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ९ओएनएम० पारित गरेको जानकारी गराए ।

सञ्चारमन्त्री खरेलले गोरखापत्र अब नेपाली आमसञ्चार माध्यममा अझ बढी व्यावसायिक, अझ बढी प्रतिस्पर्धी र अझ बढी युग सुहाउँदो हुने विश्वास व्यक्त गरे । उनले भने, “गोरखापत्रले अब ‘डिजिटल हाइवे’मा रफ्तारमा अगाडि बढ्नुपर्ने छ । अब सबै ‘आउटलेट’लाई डिजिटल हाइवेमा अगाडि बढ्नुपर्ने छ । अब मोबाइल र डिजिटल प्लेटफर्ममा देखिनुपर्ने छ ।”

सम्बन्धित खबर