२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेस अर्घाखाँचीद्वारा उम्मेदवार सिफारिस

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष ४ गते २१:३८
Shares
कांग्रेस अर्घाखाँचीद्वारा उम्मेदवार सिफारिस

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन (प्रत्यक्ष र समानुपातिक)का लागि उम्मेदवार सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ८ जना, समानुपातिकतर्फ ६ जना तथा राष्ट्रिय सभातर्फ ३ जना उम्मेदवार सिफारिस गरेको कांग्रेस अर्घाखाँचीका सचिव कृष्णप्रसाद खनालले जानकारी दिए ।

उम्मेदवारका आकांक्षी धेरै भएकाले केन्द्रीय मापदण्डअनुसार तोकिएको संख्याभन्दा बढी नाम सिफारिस गर्नुपरेको जिल्ला सभापति केशव श्रेष्ठले बताए । उनले सहमतिका लागि अधिकतम प्रयास गरिए पनि पुराना र नयाँ नेताहरूको बाक्लो आकांक्षाका कारण मापदण्ड केही हदसम्म मिचिन पुगेको स्वीकार गरे ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेवतीप्रसाद भुसालसहित ८ जना सिफारिस भएका छन् । सिफारिस सूचीमा पूर्व पार्टी सभापति कमलप्रसाद भुसाल, प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि मुक्तीराम श्रेष्ठ, जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ तथा पार्टी उपसभापति बाबुराम पौडेल रहेका छन् । 

समानुपातिकतर्फ यसपटक नेपाली कांग्रेसकी प्रभावशाली नेत्री पुष्पा गौतम भुसाल प्रत्यक्ष निर्वाचनबाट पछि हट्दै समानुपातिकमा सिफारिस भएकी छन् । गत निर्वाचनमा एमाले नेता टोपबहादुर रायमाझीसँग पराजित भएकी भुसालले यसपटक सुरक्षित विकल्प रोज्दै समानुपातिकतर्फ उम्मेदवारी चाहेको जनाएपछि पार्टीले उनको नाम सिफारिस गरेको हो । 

समानुपातिकतर्फ भुसालसँगै पूर्व प्रदेश सांसद निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णुप्रसाद अर्याल सिफारिस भएका छन् । प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने चर्चामा रहेका वरिष्ठ न्युरोसर्जन डा. राजेन्द्र श्रेष्ठले अन्तिम समयमा चुनाव नलड्ने निर्णय गरेपछि उनको नाम सिफारिस नगरिएको कांग्रेस नेता कमल पौडेलले बताए । 

राष्ट्रिय सभातर्फ पूर्व सांसद डा. रामबहादुर बिसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व प्रमुख पिताम्बर शर्मा भुसाल र पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस भएका छन् । 

यसैबीच, मुस्लिम नेता इन्सु मिया र नेपाल तरुण दल प्रदेश ‘ख’ का सभापति मोतिराम न्यौपानेले आफूहरूलाई सिफारिस नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । युवाहरूले चुनाव जित्न सक्ने नयाँ व्यक्तिको नाम एकल सिफारिस गर्न दबाब दिँदै आएको भए पनि पार्टी पदाधिकारीहरूले गोप्य बैठकमार्फत नाम टुंग्याएको कांग्रेस प्रदेश सभा ‘ख’ का उपसभापति अर्जुन पोख्रेलले आरोप लगाए ।

सम्बन्धित खबर