
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल व्यवसायले देशको अर्थतन्त्र चलायमान बनाउनुका साथै सामाजिक सम्बन्ध जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै उनले मोबाइल व्यवसायले लाखौं जेनजी युवालाई देशमै रोजगारी दिएको उल्लेख गरे ।
मन्त्री खरेलले मोबाइल व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै एमडीएमएस प्रणालीमा भएको भ्रष्टाचार अन्त्य गरिने स्पष्ट पारे । साथै, युवाको विदेश पलायन रोक्न सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस प्रणाली स्पष्ट गर्न वा खारेज गर्न माग गरे । काठमाडौं जिल्ला अध्यक्ष सुरेश बानियाँले सेकेन्ड ह्यान्ड मोबाइल कारोबार वैध बनाए राजस्व वृद्धि हुने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।