
काठमाडौं : नेपाली कांग्रेसमा १५औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय सानेमा बसेको पार्टी कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेको बताए । उनकाअनुसार बैठकमा थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।
थापाले क्रियाशील सदस्यको काम समयमै नसकिने भएको भन्दै यस्तो प्रस्ताव बैठकमा राखेको प्रवक्ता महतले बताए । बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीको कार्य अगाडि बढाउनेबारेमा समेत कुरा राखेको उनले बताए ।
कार्यसम्पादन समितिको अर्को बैठक बिहीवार दिउँसो १ बजे बस्ने समेत महतले जानकारी दिए ।