
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको वार्तामा आफूहरूले पहिले संसद् पुनर्स्थापना हुनुपर्ने अडान राखेको बताएका छन् ।
११औं महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिने कार्यक्रममा ओलीले प्रधानमन्त्री सुशीला कार्की र कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित उक्त वार्तामा चुनावभन्दा अघि प्रतिगमन अन्त्य गर्नुपर्ने कुरा स्पष्ट राखिएको बताए ।
उनले संसद् पुनर्स्थापना भएपछि मात्रै चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै हाल शान्तिपूर्ण वातावरण नबनेको दाबी गरे । नेता–कार्यकर्तामाथि आक्रमण, प्रतिबन्ध र दुष्प्रचार जारी रहेकाले तत्काल चुनाव सम्भव नभएको ओलीको भनाइ छ ।
सरकारले पहिले शान्ति–सुरक्षाको वातावरण बनाउनुपर्नेमा जोड दिँदै ओलीले देशलाई अग्रगमनमा फर्काएर मात्रै चुनावमा जान एमाले तयार रहेको बताए ।