
दोहा, कतार : किरात याक्थुङ चुम्लुङ कतारले लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम-५०८५ तथा राष्ट्रिय चाड उभौली-२०८२ यस वर्ष पनि कतारमा भव्य रूपमा मनाउने भएको छ । कतारमा रहेका याक्थुङ लिम्बूहरूको सहभागितामा आयोजना हुन लागेको यस कार्यक्रमले कला, संस्कृतिको जगेर्ना, भाषा, भेष भूषा र परम्परागत पहिचान प्रवर्धन गर्ने मुख्य उद्देश्य राखिएको आयोजक समितिले जनाएको छ ।
विविध सांस्कृतिक कार्यक्रमसहित मनाउन लागिएको तङ्नामका लागि नेपालबाट लोकप्रिय गायक कुशल थलङ बिहीबार कतार आइपुगेका छन् । गायक थलङको आगमनसँगै कार्यक्रमको तयारी पूरा भएको चुम्लुङका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बूले मध्यान्ह दैनिकलाई जानकारी दिए । कार्यक्रममा एनआरएनए आइडल कतार–२०२३ का गायन विजेता रुष्तम तामाङ, मेरो डान्स युनिभर्स सिजन–२ का टप २४ सुनिता दोङ साथै कतारमा रहेका दर्जनौं नेपाली कलाकारहरूको समेत प्रस्तुति रहनेछ ।
चासोक तङ्नाम उत्सवलाई सफल बनाउन कतारस्थित विभिन्न तह र तप्काका संघसंस्था, मिडियालगायतलाई निमन्त्रणा पठारुइसकिएको आयोजकले जनाएको छ । चासोक पूजासँगै सुरु गरिने कार्यक्रममा सुमधुर गीतसंगीतसँगै च्याब्रुङनाच, धाननाच, पालाम, हाक्पारेलगायतका याक्थुङ लिम्बूहरूको मौलिक सांस्कृतिक झाँकी प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ । लिम्बू समुदायले नयाँ अन्न-बाली भित्र्याउनु अघि कुल देवता र प्रकृतिको पूजा गर्दै मनाउँदै आएको चासोक तङ्नाम परम्परागत रूपमा अत्यन्त महत्त्वपूर्ण पर्व मानिन्छ ।
भोलि डिसेम्बर २६, शुक्रबार अबुहामुरमा अवस्थित आइडल इन्डियन स्कुलमा हुने कार्यक्रममा सरिक हुन कतारका मुख्य-मुख्य स्थानबाट यातायातको सुविधा समेत रहेको र कार्यक्रमको थप जानकारीका लागि सागर तुम्बाहाङ्फे लिम्बू ७१२९८५०१, रबिन चेम्जोङ लिम्बू ७०२५३१२५, बिरेन मादेन लिम्बू ३१६२८३१६ लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
