
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गम्भीर दिक्दारी र दबाबको अवस्थाबाट काम गरिरहेको बताएकी छन् । राजनीतिक दल, सर्वसाधारणदेखि युवा समूहसम्मबाट निरन्तर आलोचना र दबाब खेप्नुपरेको भन्दै उनले आफूहरू 'कतै जाँदा पनि सुख नहुने' अवस्थामा पुगेको गुनासो गरिन् ।
बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारले अत्यन्तै सकसका साथ निर्वाचन सम्पन्न गर्ने प्रयास गरिरहेको उल्लेख गरिन् । निर्वाचनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको सन्दर्भमा उनले लोकतान्त्रिक प्रणालीमा निर्वाचन अपरिहार्य रहेको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले पछिल्लो समय केही युवाहरूले ‘निर्वाचन किन चाहियो ?’ भन्ने प्रश्न उठाइरहेको उल्लेख गर्दै वैधानिकता, कानुनी शासन र लोकतन्त्रको निरन्तरताका लागि निर्वाचन अनिवार्य हुने बताइन् । “यो संसारकै नियम रहेछ, कानुन रहेछ । वैधानिक र अवैधानिक छुट्याउने आधार नै निर्वाचन हो,” उनले भनिन् ।
उनले सरकार निरन्तर रहिरहे तानाशाही हुन्छ भन्ने भाष्य निर्माण गरिएकोप्रति पनि असन्तुष्टि जनाइन् । “यही सरकार चलिरह्यो भने तानाशाही हुन्छ, यिनीहरू सरकारमा खान आएका रहेछन्, टाँसेरै बसेका रहेछन् भन्ने आरोप लगाइन्छ,” प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले आफूहरू अहिले ‘पेन्डुलम’ जस्तो अवस्थामा रहेको टिप्पणी गर्नुभयो । “पोलिटिकल पार्टीले पनि गाली गर्छ, भरुमारले गाली गर्छ । आज छोड, भोलि छोड भन्छन् । जेनजीहरूले पनि आजै छोड, भोलि छोड, पछि छोड भन्छन्,” उनले भनिन्, “अब छोडौं भने के छोडौं ?”
उनले पद छोडेपछि समेत आलोचना नरोकिने प्रवृत्तिप्रति कटाक्ष गर्दै भनिन्, “छोडेको भोलिपल्ट फेरि थुक्क पालो त दिएको थियो नि, औकात त तिमीहरूको छोडेर हिँड्ने न रहेछ भनेर अर्को भाष्य आउँछ ।”
प्रधानमन्त्री कार्कीको भनाइ जस्ताको तस्तै
पोलिटिकल पार्टीले पनि गाली गर्छ। भरुमारले गाली गर्छ। अहिले छोड भोलि छोड भन्छ। जेनजीले पनि आजै छोड भोलि छोड पछि छोड भन्छ। अब छोडौं भने के छोडौं? फेरि छोडेको भोलिपल्ट थुक्क पालो त दिएको थियो नि त तिमीहरुलाई तिमीहरुको औकात त छोडेर हिड्ने न रहेछ। के गरेर हिँड्यौ भनेर फेरि अर्को आउँछ फेरि भाष्य।
हामी त एकदम कस्तो भने पेन्डुलम जस्तो। त्यही पनि सकस गरेर, मिहिनेत गरेर बहुत हामीले एउटा धैर्य धारण गरेर हामी काम गर्दै छौं। अब हामीले देखेको कुरो के छ भने हुन त हामीलाई निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ। युवाहरुमा किन चाहियो? भन्दाखेरि अब त्यो त संसारको नियम रैछ, कानुन रैछ। वैधानिकता अवैधानिकका कुराहरु हुँदो रहेछ।
यसरी नै सरकार यही सरकार चलिरह्यो भने तानाशाही हुन्छ। यही सरकार हिँडिरह्यो भने देखिन्न। त्यो चाहिँ के हुन्छ भन्दाखेरि यो त तानाशाही प्रवृत्तिको सरकार रहेछ। यी त सरकारमा खान आका रहेछन्। यी त भोग गर्न आका रहेछन्। टाँसेरै बसे भन्छन् भन्ने पनि। अनि कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ। हाम्रै बारेमा पनि कथा लेख्नुस् तपाईंहरुले अब।
हाम्रै बारेमा पनि लेख्नुस्।
लेख्नुस् अब हाम्रो गृहमन्त्रीको के हाल छ त्यही लेख्नुस्, मेरो के हाल्छ त्यही लेख्नुस्, अर्थमन्त्रीको के छ हाल्नुस्, २५ वटा ३० वटा जेन्जीहरु हुनुहुन्छ अनि अब एउटा जेनजीले भन्नुहुन्छ यति काम गर भनेर अर्को जेनजीले यति गर भन्छ अर्को जेनजीले यति गर भन्छ अब यो त के हो के हो अब हामी चाहिँ के सुरमा छौं भने मुलुक बंगलादेश नहोस् भन्नेमा छौं ।