
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्नेहरूको लर्को लागेको छ । ललितपुरस्थित कुमार बेनको निवासमा उनलाई भेट्नेहरूको लर्को लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा भएसँगै राजनीतिक भेटघाटमा सक्रिय देखिएका छन् । गत शुक्रबार रिहा भएपछि उनले बालेनलाई तीन पटक भेटेका छन् ।
बिहीबार मात्रै बालेनसँग रवि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, निवर्तमान सांसदहरू अमरेश कुमार सिंह, शिशिर खनाल, जेनजी प्रतिनिधिहरू सुदन गुरुङ र रक्षा बमले समेत भेटवार्ता गरेका छन् ।
ललितपुरस्थित बेनको निवासमा रवि र मेयर बालेनबीच एकान्त वन–टु–वन वार्ता भएको स्रोतले जनाएको छ । सोही क्रममा निवर्तमान सांसद सिंह पनि त्यहाँ पुगेका थिए । तर, उनीसँग छोटो छलफल मात्रै भएको बताइएको छ ।
अमरेश बाहिरिएपछि जेनजी प्रतिनिधि रक्षा बमले पनि बालेनलाई भेट्न पुगेकी थिइन् भने अर्का प्रतिनिधि सुदन गुरुङ रविसँगै ललितपुर पुगेका थिए । स्रोतका अनुसार सुदनले रवि–बालेनबीचको वार्ता सहजीकरण गरेका थिए ।
त्यस्तै रास्वपाका निवर्तमान सांसद शिशिर खनालले बालेनसँग भेटवार्ता गरेका छन् । साथै पूर्वप्रधानमन्त्री डा. भट्टराईले पनि बालेनलाई भेट्न पुगेका थिए ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले तयारी तीव्र पारेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बालेनसँग रवि, डा. भट्टराई, सिंह, खनाल र जेनजी
प्रतिनिधिहरूको भेटले नयाँ र वैकल्पिक राजनीतिक शक्तिबीच दलीय वा चुनावी सहकार्यको सम्भावनाबारे आकलन गरिएको छ ।