
काठमाडौं : पछिल्लो समय नेपाली राजनीतिको केन्द्रमा छ– ललितपुरको कुपन्डोलस्थित ज्वागल । जहाँ बिहीबार १२ घण्टासम्म निरन्तर बसेर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले विभिन्न राजनीतिक दल र समूहका नेताहरूसँग भेटघाट गरे ।
इपिसेन्टर बनेको स्थल हो– ज्वागलस्थित कुमार बेनको घर । बेन बालेनका सहयोगी हुन् । उनैले बालेनसँगको भेटघाटका लागि राजनीतिक रूपमा समेत विभिन्न पक्षसँग संवाद गरेर व्यवस्थापकीय काम गरेका हुन् ।
बालेनको सचिवालयका अनुसार बिहीबार ३० जना वरिपरिका व्यक्तिसँग भेटघाट भएको छ । जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि जेनजी आन्दोलनका अगुवा रक्षा बमसहितका व्यक्तिहरू रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, कांग्रेसका पूर्वनेता तथा विघटित प्रतिनिधि सभामा स्वतन्त्र सांसद रहेका अमरेशकुमार सिंह, हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार, पूर्वसचिव भीम उपाध्यायले बालेनलाई भेटे ।
बालेनलाई भेट्न कलाकारहरू पनि पुगे । निश्चल बस्नेत, विशाल भण्डारी पुगे । कान्तिपुरका सञ्चालन सम्भव सिरोहिया, पत्रकार ऋषि धमला, सुरज सिंह ठकुरी ज्यागल पुगे । जेनजी अगुवाहरू रक्षा बम, सागर ढकाल, विवेकशीलका नेता मिलन पाण्डेलगायतले पनि बालेनलाई भेटे ।
बुधबार पनि बालेन दिनभर भेटघाटमा थिए । पछिल्ला दुई दिन बालेनसँग जतिले भेटेका छन् उनीहरू सबैले वैकल्पिक शक्ति एकीकृत हुनुपर्नेमा जोड दिएका छन् । भेटेकाहरूमध्ये कतिपयले बालेनलाई नै २१ फागुनपछिको प्रधानमन्त्रीका रूपमा समेत प्रस्तुत गरेका छन् ।
हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले त बालेन्द्रलाई प्रधानमन्त्रीमा पाँच वर्षका लागि खोजिरहेको बताए ।
बालेनसँग भेटेर निस्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनपछिको अन्तरिम सरकारको प्रधानमन्त्री बालेन नभएको भनेर कतिपयले आलोचना गरिरहेको पनि स्मरण गरे ।
सुनारले अगाडि भनेका छन्, ‘बालेन शाहलाई ६ महिनाका लागि होइन । बालेन शाहलाई हामी पाँच वर्षका लागि खोजिरहेका छौं । देशमा सुशासन स्थापित गर्ने सन्दर्भमा जनताबाट अनुमोदित भएर पाँच वर्षका लागि बालेन शाहलाई लिएर आउनुपर्छ भन्ने कुरामा हामी हिजो पनि स्पस्ट थियौं, आज पनि छौं ।’
राजनीतिक इपिसेन्टर बेलाबेला बदलिने गर्दछ । २०४६ सालको आन्दोलनपछि तत्कालीन कांग्रेसका नेतृत्वका निवास राजनीतिक इपिसेन्टर थिए । २०६२÷६३ सालपछि झन्डै १० वर्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र २०७० सालयता केपी शर्मा ओलीको वरिपरि राजनीति घुम्यो ।
२३ र २४ भदौमा जेनजी आन्दोलन भएपछि नयाँ शक्ति उदाउन खोजिरहेको छ । यो बेला २०७९ को चुनावमा काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार भएर विजयी बालेन केन्द्रमा देखिने प्रयासमा छन् । यसकारण उनको वरिपरि वैकल्पिक शक्ति केन्द्रित गराउने प्रयास भइराखेको छ । तथापि जनताले कसलाई मतदान गर्छन् र शक्तिमा पु¥याउँछन् भन्ने विषय कुर्न भने निर्वाचन नै हुनुपर्छ ।
२१ फागुनको निर्वाचनका लागि समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलले यही पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समय छ । यसकारण दलहरूमा ध्रुवीकरणको तीव्र प्रयास भएको हो ।
नेताहरूका अनुसार कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी बालेनसँग सहकार्यका लागि तयार भएको छ । तर मोडालिटी तयार भएको छैन । हर्क साम्पाङ नेतृत्वको पार्टीसँग समेत छलफल चलिरहेको छ । रास्वपाका सभापति लामिछाने, बालेन, घिसिङसहितका शक्तिलाई मिलाउने प्रयास चलिरहँदा बालेनका सहयोगी कुमार बेनको घर राजनीतिक इपिसेन्टरजस्तो बन्न पुगेको हो ।
समाजशास्त्री सम्राट शर्मा नेपालको राजनीतिमा पछिल्लो दशकमा अभ्यास भइराखेको वैकल्पिक शक्ति संस्थागत हुने प्रयासमा रहेको बताउँछन् ।
‘झन्डै १० वर्षदेखि वैकल्पिक शक्तिको कुरा र अभ्यास भइराख्यो । अहिले संस्थागत हुन खोजेको छ,’ उनी भन्छन्, ‘यथास्थितिबाट अगाडि बढ्न खोेजेकाहरू एकीकृत हुन खोजेका छन् । यसबेला स्वतन्त्र चुनाव जितेर काठमाडौंको मेयर भएका व्यक्ति वरिपरि राजनीति देखिनु स्वाभाविक छ ।’
२३ र २४ भदौमा जेनजी आन्दोलन गरेका अगुवाहरू एकीकृत रूपमा अगाडि बढ्नसमेत सकिरहेका छैनन् । तर बालेनले सबै जेनजी अगुवालाई समेत नेतृत्व गर्नेगरी छलफल चलाएको भन्दै उनले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् ।
जुनसुकै शक्ति एकीकृत भएर चुनावमा जाँदा अनुमोदन गर्ने वा नगर्ने जुनसुकै निर्णय लिन जनतालाई पनि सहज हुने उनको विश्वास छ ।