
काठमाडौं : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् । शुक्रबार एक प्रेस नोट जारी गर्दै महाधिवेशन प्रतिनिधि तिवारीले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न कांग्रेस नेतृत्वसँग माग गरेका हुन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ४९ दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले पुष २६–२८ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरे पनि हालसम्मका गतिविधिले नियमित महाधिवेशन हुने कुनै संकेत नदेखिएको उनले बताएका छन् । पार्टी प्रवक्ताबाटै तोकिएको समयमा नियमित अधिवेशन हुन नसक्ने संकेत आइसकेको भन्दै उनले यसलाई पार्टीको गम्भीर ढिलासुस्ती र अकर्मण्यताको प्रमाण भनेका छन् ।
तिवारीका अनुसार पार्टी नेतृत्वको यस्तो प्रवृत्ति पार्टीभित्र परिवर्तनको आवाज उठाइरहेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिमाथिको अपमान हो । विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका स्वाभिमानी कार्यकर्ताहरू पार्टीलाई यथास्थितिमा राख्ने प्रयास चुपचाप हेरेर बस्न नसक्ने उनको भनाइ छ ।
नियमित अधिवेशनको कार्यतालिका नै विशेष महाधिवेशनको आवाज दबाउन बदनियतपूर्वक तयार गरिएको तीकडम भएको आरोप लगाउँदै उनले ‘रकेट गति’ मा महाधिवेशन गरिने भनाइप्रति कार्यकर्ताहरूले विश्वास गर्नु ठुलो भूल भएको बताएका छन् । अब त्यो भूलबाट बाहिर निस्केर विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरू केन्द्रीय कार्यालय घेर्न काठमाडौं आउनुपर्ने उनले आह्वान गरेका छन् ।
उनले भदौ २३ र २४ का घटनाबाट पार्टीले पाठ सिकेको र परिवर्तन भएको सन्देश दिन निर्वाचनअघि नै पार्टी रूपान्तरण अपरिहार्य भएको उल्लेख गरेका छन् । क्रियाशील सदस्यता सम्बन्धी विवादमा दोषारोपण गर्नुभन्दा पार्टीको गतिरोध अन्त्यका लागि सिंगो केन्द्रीय कार्यसमिति नै बाधक बनेको तिवारीको ठहर छ ।
बिपी कोइराला लगायत अग्रज नेताहरूले प्रतिपादन गरेको सिद्धान्त, दर्शन र विचारअनुसार निर्णय गर्ने समय आएको उल्लेख गर्दै उनले सत्तामुखी सोचले समयअनुकूल कांग्रेस निर्माण हुन नसक्ने जिकिर गरेका छन् ।
तिवारीले पार्टी विधान सबैभन्दा माथि भएको उल्लेख गर्दै विधानको दफा १७.२ को पालन गर्न कांग्रेस केन्द्रलाई आग्रह गरेका छन् । पार्टी केन्द्रले विधानको अनुशासन नमाने विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूले पार्टीलाई नयाँ बनाउने निर्णय आफैं गर्ने चेतावनीसमेत दिएका छन् ।