
काठमाडौं : रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच हुने भनिएको निर्णायक छलफल अन्तिम चरणमा पुगेको छ । आजै भेटघाटपछि सहमतिसम्बन्धी निष्कर्ष सार्वजनिक गर्ने तयारी गरिएको छ ।
सहमतिको खाका तयार पार्ने जिम्मेवारी पाएका कुमार व्यञ्जनकार, आसिफ साह र रास्वपा केन्द्रीय सदस्य असीम साह केही समयअघि सभापति लामिछानेसँग भेट गरेर फर्किएका छन् । छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताइएको छ ।
वार्तामा संलग्न एक सदस्यका अनुसार कुराकानी निर्णायक मोडमा पुगेको छ । छलफल अन्तिम निष्कर्षतर्फ उन्मुख रहेको र सकारात्मक निर्णय सार्वजनिक गरिने छलफलमा संलग्न ती सदस्यले बताए ।
आजै सहमतिपत्रमा हस्ताक्षर गर्ने गरी दुवै पक्ष सक्रिय छन् । बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने रणनीतिसहित रास्वपाभित्र समावेश गराउने अन्तिम तयारी छ । बालेन रास्वपाबाट आगामी निर्वाचनमा सहभागी हुने र त्यसपछि प्रधानमन्त्री बन्ने दीर्घकालीन रोडम्याप तय गरिएको दाबी गरिएको छ । पार्टीको सभापति भने रवि नै हुने र बालेनलाई रवि पछिको वरीयता दिने गरी कुरा अघि बढेको बताइएको छ ।
बालेनसँगै वैकल्पिक राजनीतिक शक्तिहरू तथा ‘जेन–जी’ समूहहरूलाई समेत रास्वपामा एकीकृत गर्ने पहल भइरहेको बताइएको छ । यसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्ने विश्लेषण भइरहेको छ ।