
काठमाडौं : फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै नयाँ राजनीतिक समीकरणको तयारीमा जुटेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालकै संविधान मानेर अघि बढ्ने स्पष्ट पारेका छन् ।
रास्वपाका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ, विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेतासँग छलफल गरिरहेका बालेनले आफू संविधान र संघीयताको पक्षमा रहेको बताएका छन् ।
जेनजी प्रतिनिधिसँगको छलफलमा उनले संघीयता आवश्यक भएको र अहिलेकै संविधान बेस्ट रहेको धारणा राखेका छन् । कार्यान्वयन कमजोर भएकाले समस्या देखिएको उनको भनाइ छ ।
बालेनले देश विकास पार्टीमार्फत नयाँ शक्तिलाई जोडेर निर्वाचनमा जाने तयारी गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने समय नजिकिँदै जाँदा उनले राजनीतिक गृहकार्य तीव्र पारेका छन् ।