२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

नेपालगञ्जमा उर्दू साहित्यिक बिहानी, सहर महमूदको विशेष सम्मान

shivam cement
२०८२ पुष ११ गते २१:५४
Shares
नेपालगञ्जमा उर्दू साहित्यिक बिहानी, सहर महमूदको विशेष सम्मान

नेपालगञ्ज : बज्म–ए–उर्दू नेपालको आयोजनामा ‘सहर–ए–सुखन’(साहित्यिक बिहानी) शीर्षकमा भव्य मुशायरा समारोह नेपालगञ्जमा सम्पन्न भएको छ । उक्त समारोह कपिलवस्तु निवासी प्रख्यात उर्दू शायर सहर महमूदको सम्मानमा आयोजना गरिएको हो । 

कार्यक्रममा सोही क्षेत्रका इस्लामी विद्वान सिराज अहमद प्रमुख अतिथिका रूपमा सहभागी थिए । बज्म–ए–उर्दूका अध्यक्ष सर्वर नेपालीका अनुसार शायर सहर महमूद उर्दू फाउन्डेशन नेपालका अध्यक्षसमेत हुन् । 

उनको गजल संग्रह जहान–ए–आरजू उर्दू साहित्यमा लोकप्रिय मानिन्छ । महमूद हाल नेपालमा उर्दू साहित्यसम्बन्धी अनुसन्धानमा सक्रिय रहेका छन् । प्रमुख अतिथि सिराज अहमद काठमाडौंबाट प्रकाशित त्रैमासिक पत्रिका पैगामका सम्पादकसमेत हुन् । 

कार्यक्रमको सुरुवात ७ देखि १२ वर्ष उमेर समूहका बालबालिकाद्वारा प्रस्तुत गरिएको नेपाली राष्ट्रगानबाट गरिएको थियो । कार्यक्रम सञ्चालन बज्म–ए–उर्दूका अध्यक्ष सर्वर नेपाली र मार्गदर्शक प्राध्यापक हरि तिमिल्सिनाले संयुक्त रूपमा गरेका थिए ।

राष्ट्रगानपछि युवा कवि डा.नूर मोहम्मद अंसारीले नेपाली भाषामा कविता वाचन गरेका थिए । त्यसपछि नेपालगञ्जका शायर नूर मोहम्मद राईले उर्दू गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा इस्लामी विद्वान तथा भाषा विज्ञ डा. जैनुल आबेदिनले उर्दू भाषाको महत्वबारे मन्तव्य राख्दै भाषिक विविधताले समाज समृद्ध हुने धारणा व्यक्त गरेका थिए । 

कार्यक्रमको दोस्रो चरणमा नेपाली साहित्यकारहरूको प्रस्तुति रहेको थियो । कवयित्री चन्दावती अधिकारी, भरतबहादुर रानाभाट र इन्द्रबहादुर बस्नेतले आ–आफ्ना कविता वाचन गरेका थिए । यस अवसरमा प्राध्यापक हरि तिमिल्सिनाले नेपालमा भाषिक तथा सांस्कृतिक विविधताको विकासले समग्र समाज र राष्ट्रको विकासमा योगदान पुर्‍याउने उल्लेख गरेका थिए ।

अन्तिम चरणमा प्रख्यात साहित्यकार सर्वर नेपाली, अतिथि शायर सहर महमूद, नेपालगञ्जका वरिष्ठ शायर सैयद नेपाली तथा विद्वान लेखक सेराज अहमदले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । सेराज अहमदले उर्दू भाषा कुनै एक धर्म वा समुदायको मात्र नभई सबैको साझा सम्पत्ति भएको बताए ।

कार्यक्रमको समापन समारोहका सभापति तथा वरिष्ठ शायर अब्दुल लतीफ शौकले रचना वाचन गर्दै आशीर्वचन प्रदान गरेका थिए । उपाध्यक्ष सैयद जहाँगीर सलाहुद्दीनले मिर्जा गालिबका शेर वाचन गर्दै कार्यक्रम समापन गरेका थिए । 

कार्यक्रम सफल बनाउन नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का जनप्रतिनिधिहरूले गणेशपुरस्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको सभाकक्ष निःशुल्क उपलब्ध गराउँदै सहयोग गरेका थिए । साथै बज्म–ए–उर्दू नेपालका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर