
काठमाडौंः अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने भन्दै प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको बताए । कुनैपनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ, दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको उनको भनाइ छ । रुल अफ ल स्थापित भएपछि मात्रै जेनजीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनले बताए । आन्दोलन पछि पनि कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध नभएको भन्दै उनदे कानुनी शासन स्थापित गर्न अहिले पनि नसकिएको औंल्याए ।
उनले भने, ‘हामी जे बोल्छौँ, त्यही गर्नको निमित्त हामी कतिपय अवस्थामा सक्दैनौँ । प्रणालीमा वाक इन द टकको ठूलो समस्या छ । कुनैपनि दायित्व नलिइकन बोल्दाखेरी जति खुला तरिकाले बोल्न सकिन्छ, त्यही कुरा दायित्व लिँदा गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्रै बोल्ने र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थालियो भने आशा गरेअनुसारको परिवर्तन सम्भव छ ।’
अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरुले वित्तीय प्रशासनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।