
काठमाडौंः अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच नै युदिनसके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताएका छन् । राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले न्युनतम महत्वमा एउटा सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच पुर्याउनुपर्ने बताए । त्यसका लागि केही ऋण दिने व्यवस्था सरकारले गर्न जरुरी रहेको उनको भनाइ छ । नेपालमा बस्नु भन्ने तर बस्नसक्ने वातावरण बनाउन नसक्ने कुराले युवाहरु स्वदेशमा रहन नसक्ने उल्लेख गरे । आगामी सरकारले यसबारेमा काम गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली युवाहरुको सपना भनेको एउटा सानो घर, साधारण गाडी ट्रान्सपरेसनको लागि । बच्चालाई पढाउने शिक्षा, स्वास्थ्य सही रुपले दिनसक्यो भने त्यत्तिको लागि सरकारले बेसिक निडको रुपमा लिएर त्यसको लागि ऋण दिने, फेसिलिटेड गरिदिने र हरेक युवाले त्यत्तिको सपना पूरा गर्नसक्ने वातावरण बनाउनसक्यो भने सबै युवाहरु नेपालमै बस्ने सम्भावना रहन्छ ।’
मन्त्री घिसिङले छोटो समयको अहिलेको सरकार भएकाले धेरै आशा गर्न नहुने बताए । नेपालको द्रुततर विकासको लागि अहिलेको ऐन, कानुनका समस्या र प्रक्रियागत झन्झटलाई हटाउनुपर्ने बताए । निर्माण व्यवसायको क्षमता वृद्धि नभएसम्म देशको द्रुततर विकास हुन नसक्ने उनको टिप्पणी छ ।