
काठमाडौं : मधेश केन्द्रीत दल पनि एकता र ध्रुवीकरणमा लागेका छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त एक भइसके । आइतबार नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टी एकता गरेका छन् ।
सहमति पत्रमा दुवै पार्टीका नेतृत्वले हस्ताक्षर गरेका छन् । नेताहरूका अनुसार वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन एवं विश्लेषण गरेर एकता गरिएको निर्णय गरिएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्न एकता गरिएको उनीहरूको भनाइ छ ।
यी दुवै नेता मधेशका प्रमुख नेता हुन् । यादव मधेशी अधिकार, संघीयता, समावेशिता र पहिचानको राजनीतिका निरन्तर पैरवीकर्ता मानिन्छन् । २०६३ सालको मधेश आन्दोलनपछि राष्ट्रिय राजनीतिमा उदाएका यादव उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री तथा स्वास्थ्य मन्त्री भए । संविधान संशोधन, मधेशको समान प्रतिनिधित्व र राज्य पुनर्संरचनाका विषयमा उनी स्पष्ट र अडानयुक्त धारणा राख्ने नेताका रूपमा चिनिन्छन् । तर बारम्बार दल विभाजन र सरकारमा सहभागी हुने–नहुने निर्णयका कारण उनी आलोचनाको केन्द्रमा पनि रहँदै आएका छन् ।
नेता ठाकुर पनि नेपालका अनुभवी मधेशी नेता तथा लोकतान्त्रिक आन्दोलनका पुराना नेता हुन् । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय ठाकुर नेपाली कांग्रेस हुँदै मधेश केन्द्रित राजनीतिमा प्रवेश गरेका हुन् । मधेश आन्दोलनलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउन उनले खेलेको भूमिका कतिपयले स्मरण गर्ने गरेका छन । वार्ता, सहमति र संसदीय अभ्यासमा विश्वास गर्ने ठाकुर निर्वाचनबाट भने कमजोर हुँदै आएका नेता हुन् ।
वैकल्पिक शक्तिहरू एक हुने प्रयासमा रहेका बेला मधेश केन्द्रित दलहरू पनि एकता र ध्रुविकरणको प्रयासमा छन् । यस अन्तर्गत जसपा नेपाल र लोसपा मिलेका हुन् ।
अब एकता अनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत बन्दसूची बुझाउने उनीहरूको तयारी छ । बन्दसूची बुझाउने समय आइतबार र सोमबारका लागि तोकिएको छ । मिलेका यी दुई दलले सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गरेका छन् ।