२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

वीरगञ्ज महानगरपालिकाको १९औं नगरअधिवेशन सम्पन्न

shivam cement
महमद सदाब
२०८२ पुष १४ गते १९:५०
Shares
वीरगञ्ज महानगरपालिकाको १९औं नगरअधिवेशन सम्पन्न

वीरगञ्ज :  वीरगञ्ज महानगरपालिकाको १९औं नगरअधिवेशन सोमबार सम्पन्न भएको छ । 

अधिवेशनबाट गत असोजमा भएको विशेष अधिवेशनमा कटौति गरिएको वडाको २५ प्रतिशत बजेटलाई पुनः थप गर्ने प्रस्ताव पारित भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षतिग्रस्त उक्त महानगरपालिकाको भवनमा असोजमा विशेष अधिवेशन भएको थियो । 

सो अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुनःनिर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौति गरेको थियो । पुनःनिर्माणका लागि आवश्यक स्रोत जुटाउन चालु आर्थिक वर्षमा १७औं अधिवेशनले छुट्याएको बजेटलाई यथावत् रहने गरि अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको आजसम्म समग्र आय–व्ययको अवस्था समेत जानकारी गराएका थिए । अहिलेसम्म बिनियोजन गरिएको कुल ३ अर्ब २२ करोड रकममध्ये १ अर्ब १३ करोड खर्च भएको उनले बताए । खर्चको प्रतिशत हेर्दा अहिलेसम्म बिनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको छ । चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पुँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत रहेको मेयर सिंहले जानकारी गराए ।

महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ भित्र सुलभ औषधी पसल, प्रयोगशाला विस्तार, नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसमेत राखेको छ । अधिवेशनमा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर