
काठमाडौं : झन्डै दुई दशकपछि सिंहदरबारमै संसद्को बैठक बस्ने भएको छ । यसका लागि संघीय संसद् सचिवालयकाले आवश्यक तयारी पूरा गरेको छ । आगामी माघ ४ गतेबाट राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदै छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘सिंहदरबारमा रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्नेगरी तयार गरिएको छ ।’
जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन जलेपछि वैकल्पिक रूपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने हल तयार गरिएको हो । यो सँगै १९ वर्षपछि सिंहदरबारमै संसद् बैठक बस्ने भएको हो ।
२०६२/६३ सालको जनआन्दोलनले संसद् पुनस्र्थापना गर्नु अगाडि संसद् बैठक सिंहदरबारकै ग्यालरी बैठकका बस्थ्यो । जनआन्दोलनका क्रममा तत्कालीन सात राजनीतिक दलले सडकमै संसद् बैठक चलाएका थिए । जनआन्दोलनपश्चात् भने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा संसद् बैठक बस्न थालेको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकै भवनमा २०६३ सालमा तत्कालीन माओवादी र सरकारबीच विस्तृत शान्तिसम्झौता हस्ताक्षर थियो । त्यसपछि १० वर्षे लामो सशस्त्र द्वन्द्वमा रहेका माओवादी शान्ति प्रक्रियामा आएको हो ।
त्यसयता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकै भवनमा संसद्को बैठक बस्यो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा उक्त भवन जल्यो । त्यसपछि सिंहदरबारमै बैठक राख्न लागिएको हो । यो सँगै १९ वर्षपछि संसद् बैठक पुनः सिंहदरबारमै बस्न लागेको हो ।
संसद् सचिवालयका प्रवक्ता गिरीका अनुसार छुट्टै संसद् भवनसमेत बनिरहेको छ । नयाँ भवनको निर्माण कार्य बाँकी नै छ । यसकारण कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्नेगरी तयार गरिएको हो ।
१९ वर्ष संसद् बैठक चलेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पनि आफ्नै इतिहास छ । नेपाल भ्रमण गर्न सन् १९८४ मा चिनियाँ राष्ट्रपति ली जियानियन आएका थिए । त्यहीबेला राजा वीरेन्द्रले नेपालमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक छ भनेर सहयोग मागेका थिए । त्यसपछि यो भवन चीन सरकारको सहयोगमा तयार भएको थियो ।
त्यसको तीन वर्षपछि अर्थात् सन् १९८७ मा नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायता सम्झौता भयो । त्यसको दुई वर्षपछि सन् १९८९ मा चिनियाँ प्रधानमन्त्री ली पेङ र नेपालका प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले सम्मेलन केन्द्र बनाउन शिलान्यास गरेका थिए । सन् १९९३ मा निर्माण सम्पन्न यो भवन सुरुमा ‘वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ थियो । गणतन्त्र स्थापनापछि भने ‘वीरेन्द्र’ शब्द हटाएर ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ भन्न थालिएको हो ।
यसरी चीन सरकारको उपहारस्वरूप निःशुल्क निर्माण गरिएको यो भवन जलेर नष्ट भएको छ । भवनको निर्माण तथा डिजाइन कार्यमा चिनियाँ सरकारी आर्किटेक्ट र इन्जिनियरहरूको प्रत्यक्ष संलग्नता थियो । यो पनि नष्ट भएको छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक पनि सिंहदरबारमै राख्न गरी निर्माणाधीन भवनलाई छिटो सम्पन्न गराउने गृहकार्य भइराखेको छ । यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले नयाँ संसद् भवन निर्माणको कामलाई तीव्र बनाएको छ । प्रतिनिधि सभाको निर्वाचन आगामी २१ फागुनमा हुँदै छ । सो निर्वाचनबाट आउने संसद् बैठक सिंहदरबारस्थित नयाँ भवनमै राख्ने तयारी छ ।
भवन निर्माण विभागका अनुसार संसद् भवन निर्माणको काम ८८ प्रतिशत सकिएको छ ।