२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

विदेश जानेहरूलाई स्थानीय तहले सहुलियत दरमा ऋण उपलब्ध गराउन आवश्यक छ : डा. राजीव झा

shivam cement
तिलु शर्मा पौडेल
२०८२ माघ २ गते १७:१५
Shares
विदेश जानेहरूलाई स्थानीय तहले सहुलियत दरमा ऋण उपलब्ध गराउन आवश्यक छ : डा. राजीव झा

दोहा, कतार : राष्ट्रिय मुक्ति नेपालका उपाध्यक्ष, क्लोथ बैंक नेपालका अध्यक्ष तथा खुला सीमा संवादका अध्यक्ष डा. राजीव झा कतारमा सम्मानित भएका छन् ।  मधेशी एकता समाज कतारको आयोजनामा सम्पन्न स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बिहीबार कार्यक्रमका प्रमुख अतिथि समेत रहेका झा सम्मानित भएका हुन् । 

गोर्खाली रेस्टुरेन्टको सभा हलमा समाज कतारका कार्यवाहक अध्यक्ष अलि हुसेन राइनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै झा आफू आगामी निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्ने जानकारी गराए । उनले मधेशी समुदायका हक–अधिकार, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका विषयलाई संसद्सम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो संस्थामार्फत सञ्चालन हुँदै आएको क्लोथ बैंक नेपालको उद्देश्यबारे स्पष्ट पार्दै जसलाई बढी कपडा छ, उसले दिएर जानु र जसलाई कपडा छैन, उसले निःशुल्क लिएर जानु नै क्लोथ बैंकको मूल भावना रहेको स्पष्ट पारे । क्लोथ बैंक नेपालले देशभर गरिब, असहाय, अनाथ आश्रम, विद्यालयहरूमा कपडा तथा ब्ल्यांकेट वितरण गर्दै आएको र कोरोनाको महामारीको कठिन समयमा पनि आफूले निरन्तर सामाजिक सेवामा सक्रिय भूमिका निभाएको स्मरण गराए । वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निजी साहुकारको चपेटामा पर्न नदिन नगरपालिकामार्फत नै सहुलियत ऋण उपलब्ध गराउनुपर्ने प्रस्ताव आफूले अघि सारेको बताए ।

कार्यक्रममा एनआरएन एनसिसि कतारका अध्यक्ष कृष्ण पन्थी, नेपाली समाज कतारका अध्यक्ष मनिष यादव, मधेस प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नियाज शेख लगायता सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एनसिसीका अध्यक्ष पन्थीले मधेशसहित देशका जुनसुकै क्षेत्रका समस्या समाधानमा आफू सधैं सहयोग गर्न तयार रहेको बताए । मधेशमा बसेर मधेशीका समस्यालाई आफ्नो मुद्दा बनाउन नसक्ने मधेशी बन्न नसक्ने बताउँदै उनले मधेशमा सदैव एकता कायम रहनुपर्ने बताए । उनले पार्टी आ–आफ्नो ठाउँमा भए पनि मधेशका समस्यामा सबै नेपालीले हातेमालो गर्नुपर्ने बताए । तराईमा पछिल्लो समय युवाहरू दुर्व्यसनमा फसेको बताउँदै उनले खुला सिमानाले पारेको असर र भविष्यमा पार्ने असरप्रति चिन्ता व्यक्त गर्दै त्यो पाटोमा आवश्यक कदम चाल्नुपर्ने बताए । 

मधेशी एकता समाज कतार, मधेश प्रदेश समन्वय परिषद् कतार, मन्सुरी एकता समाज नेपाल, राष्ट्रिय मुस्लिम परिषद् नेपाल तथा धनुषा सेवा समाज कतारको तर्फबाट समेत झालाई दोसल्ला, खादा तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले कतारमा रहेका मधेशी समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिए । समाजका महासचिव चनरवीरले सहजीकरण गरेको कार्यक्रमको समापन सभाध्यक्ष राइनले गरेका थिए ।

सम्बन्धित खबर