२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेजी !

shivam cement
मुकुन्द लामिछाने
२०८२ माघ ५ गते ०६:२०
Shares
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेजी !

काठमाडौं : आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्यको चुनावअन्तर्गत निर्वाचन आचारसंहिता लागू भएको छ । गए राति १२ बजेबाट लागू भएको आचारसंहितामा आचारसंहिता उल्लंघन गर्दा उम्मेदवारी खारेजी हुनेसम्मका सजाय हुने प्रावधान समेटिएका छन् । 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आचारसंहिता गएरातिदेखि लागू भएको हो । उनका अनुसार ‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न’ आचारसंहिता लागू गरिएको हो । 

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार निर्वाचन आचारसंहिता कडाइसाथ पालना गर्न/गराइनेछ । निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्नेसम्मका प्रावधान राखिएका छन् । उनीहरूका नजरमा आचारसंहिता नैतिक मात्र होइन, बाध्यकारी नियम हो । यो लिगल डकुमेन्ट हो । आचारसंहिता उल्लंघन भएको प्रमाणित भए उम्मेदवारी खारेजसमेत हुन सक्छ । 

आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयबाट आचारसंहिता पालना भए÷नभएको निगरानी हुनेछ । यसका अलावा राज्यका अन्य निकायले समेत आचारसंहिता कार्यान्वयनउपर निगरानी गरिराखेका हुन्छन् । 

यही माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । जहाँ आचारसंहिता उल्लंघन भएको खण्डमा जोकोहीले निवेदन दिनसमेत सक्छन् । 

मनोनयनका बेलादेखि नै आचारसंहिता उल्लंघनका घटना बाहिन आउन सक्ने भएकाले सचेत रहन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई निर्वाचन आयोगको आग्रह छ । 

आचारसंहिता अनुसार मनोनयन दर्ता गर्न जाँदा २५ जनाभन्दा बढी मानिस लैजान पाइँदैन । बढीमा १० वटा मात्र झन्डा प्रयोग गर्नुपर्ने नियम छ । 

२१ फागुनमा हुने चुनावका लागि मंगलबार मनोनयन दर्ताको समय छ । उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दासमेत १३ किसिमका कागजात संलग्न गर्नुपर्नेहुन्छ । 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता भट्टराईका अनुसार उम्मेदवारी दर्ता गर्दा मतदाता नामावली ऐन २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता २०८२ बमोजिम मनोनयन पत्रसाथ १० किसिमका कागजात पेस गर्नुपर्नेहुन्छ । 

जसमा उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्ने उल्लेख छ । 

उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पेस गर्नुपर्छ । 

उम्मेदवार हुने व्यक्तिले आफ्ना तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधि मुकरर गरेको फारम बुझाउनुपर्छ । 

प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयनपत्र बुझाउनुपर्छ । 

दलका तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले प्रदान गरेको औपचारिकपत्र दिनुपर्छ । 

तर एकल चुनाव चिह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा मनोनयनको औपचारिक पत्र भए पग्छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गर्नुपर्ने नियम छ । तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । 

उम्मेदवार हुने व्यक्तिले आफू योग्य रहेको भनेर स्वघोषणासमेत गर्नुपर्छ । उम्मेदवार हुने व्यक्तिले आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरणसमेत बुझाउनुपर्छ । साथै वैयक्तिक विवरण पनि दिनुपर्छ । 

उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्याेट भएको बेहोराको निस्सा दिनुपर्छ । 

लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्योट गरेको निस्सासमेत पेस गर्नुपर्छ । 

सम्बन्धित खबर