– बलराम तिमल्सिना
बाजे बिते, बाबु बिते, भोटै हाली हाली
हाम्रो जुनी बित्नै लाग्यो, फोस्रो आस पाली
देखिसक्यौं राम्रोसँग व्यवस्थामै खोट
खोटी व्यवस्थामा हाम्ले किन हाल्ने भोट ?
पहिले यो व्यवस्थालाई जरैबाट ढालौं
समाजको कसिङ्गर जम्मा गरी बालौं
जनताको आफ्नै राज निर्माण गर्न थालौं
हाम्रो राज आएपछि बल्ल भोट हालौं ।
श्रमजीवी जनताको आफ्नो बेग्लै नारा
सिधा कुरा प्रस्ट विचार चुनाव बहिष्कार !
नमस्कार गर्दै ठग आउने छन् ठग्न
हाम्ले हाम्रो कसमलाई दिनु हुन्न डग्न ।
मदिराको भेल बाढीमा हुँदै हुन्न बग्न
झुटो कुरालाई अब दिनु हुन्न तग्न
श्रमजीवी जनताको क्रान्तिकारी नारा–
सिधा कुरा प्रस्ट विचार चुनाव बहिष्कार !
लालसलाम जय नेपाल सबै चोरै चोर
जो चोर छ उसैको छ यहाँ ठूलो स्वर
संसदीय रछ्यानका सबै गुहे कीरा
तिनै कीरा आफूलाई सोच्छन खाट्टी हिरा
मजदुर किसान गरीबको नयाँ साझा नारा–
सिधा कुरा प्रस्ट विचार चुनाव बहिष्कार !
निदाएर हुन्न अब सबै जना उठौं
हिमाल पहाड मधेश जुटौं गाउँ सहर जुटौं
हैन यो देश संसदवादी स्यालहरूको विर्ता
भोट थाप्ने ढ्वाङलाई रित्तै पठाऊँ फिर्ता
निर्माण गरौं हामी मिली क्रान्तिकारी धारा
सिधा कुरा प्रस्ट बिचार चुनाव बहिष्कार !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies