
अर्घाखाँची : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता सम्पन्न भएसँगै अर्घाखाँची जिल्लामा पनि मनोनयन प्रक्रिया टुंगिएको छ । तर, विगतका चुनावी प्रतिबद्धता पूरा नहुँदा यसपटक जिल्लाका मतदातामा खासै उत्साह देखिएको छैन ।
अर्घाखाँचीमा राजनीतिक दलहरूले वर्षौंदेखि विकासका ठूला सपना देखाउँदै आए पनि ती सपना व्यवहारमा नउतारिँदा मतदातामा निराशा बढेको स्थानीयको भनाइ छ । हरेक निर्वाचनमा उम्मेदवारले घर–आँगनमै पुगेर सालझण्डी–ढोरपाटन सडक, नौमुरे जलविद्युत आयोजना, जिल्ला अस्पताल भवन, विशेषज्ञ अस्पताल, बाटाघाटा, कुलो–सिँचाइ, खानेपानी, विद्युत् तथा रोजगारी सिर्जनाजस्ता आश्वासन दिँदै आए पनि तीमध्ये धेरै योजना अलपत्र परेका छन् ।
पछिल्ला निर्वाचनमा पनि दलका नेताहरू टिकट लिएर जिल्ला फर्किए तापनि मतदाताले उनीहरूको प्रतिबद्धतामा विश्वास गर्न छाडेको देखिन्छ । अर्घाखाँचीका दुर्गम बस्तीका मतदाताले ‘आजसम्म भोट हालेर के भयो ?’ भन्ने प्रश्न उठाउन थालेका छन्। धेरै पटक मतदान गरिसकेका मतदाताहरू उम्मेदवारका वाचाप्रति भुक्तभोगी भइसकेको बताउँछन् ।
पहिलो पटक मतदान गर्न लागेका युवामा पनि उत्साह देखिँदैन । उनीहरू भन्छन्, ‘जो सत्तामा पुग्छन्, उनीहरूले काम गर्दैनन् । जसमा काम गर्ने जोस हुन्छ, उनीहरू सत्तामा पुग्दैनन् ।’
नेपालकै ठूलो नगरपालिका मानिने शितगङ्गा नगरपालिकाका धेरै भू–भाग अझै दुर्गम छन्। धुलाम्मे र हिलाम्मे बाटो हुँदै मतदान केन्द्रसम्म पुग्नुपर्ने बाध्यता वर्षौंदेखि उस्तै छ । शितगंगा–करेचुलीका ७४ वर्षीय देविराम न्यौपानेको घरसम्म अहिले पनि राम्रो सडक पुगेको छैन । खानेपानी र सिँचाइको समस्या जस्ताको तस्तै रहेको उनी बताउँछन् । चुनावी चहलपहलले आफूलाई छोएन भन्दै उनले उम्मेदवारका आश्वासनमा विश्वास नलाग्ने बताए ।
यसैगरी, शितगंगाको पाबरा–बौरी–विक्रमगञ्ज–गौडा–करेचुली सडक कालोपत्रे गर्ने आश्वासन तीन दशकदेखि दिइए पनि अझै पूरा नभएको स्थानीय नेत्रबहादुर सोमरेले बताए ।
रोजगारी दिने आश्वासनले दिक्क लागेको धनबहादुर रास्कोटीको गुनासो छ । उनका छोरा नेपालगञ्जमा होटल मजदुरी गर्दै आएका छन् ।
‘अर्घाखाँचीका धेरै गाउँमा अहिले युवा पुरुष निकै कम छन्, अधिकांश भारत र अन्य देश गएका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा उम्मेदवारले रोजगारी दिन्छौं भन्दा कसरी पत्याउने ?’
जिल्लामा शुद्ध खानेपानी, सहज स्वास्थ्य सेवा, राम्रो सडक र रोजगारीको अभाव अझै गम्भीर समस्याका रूपमा रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्धप्रकाश पौडेलका अनुसार अर्घाखाँचीमा कुल १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका छन् । तीमध्ये ८७ हजार १ सय ५७ पुरुष र ८४ हजार ४ सय ९५ महिला छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार अप्ठ्यारो भूगोल भएका स्थानको स्थलगत अवलोकनपछि अघिल्ला निर्वाचनभन्दा ५ वटा मतदान स्थल र ७ वटा मतदान केन्द्र थप गरिएको छ ।
उम्मेदवारी दर्ताअनुसार नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’, नेकपा एमालेबाट पार्टी अध्यक्ष पिताम्बर भुसाल, नेकपाबाट केन्द्रीय सदस्य रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति हरिप्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, नेकपा माओवादी विप्लवबाट खेमबहादुर घर्ती तथा स्वतन्त्रतर्फ रवि शाह, हिमाल भुसाल र पम्फा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
पहाडी जिल्ला अर्घाखाँचीमा कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीयको आकलन छ ।