२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

दर्जन बढीले दल बदलेर दिए उम्मेदवारी

shivam cement
मुकुन्द लामिछाने
२०८२ माघ ७ गते ०६:३०
Shares
दर्जन बढीले दल बदलेर दिए उम्मेदवारी

काठमाडौं : राजनीतिमा आस्था, विचार र सिद्धान्तको कुरा हुन्छ भन्ने विषयलाई टिकट वितरणको प्रवृतिले खण्डित गरिदिएको छ । कांग्रेसबाट कम्युनिस्ट र कम्युनिस्टबाट कांग्रेस हुन टिकट पाएपछि सोच्नै नपर्ने उदाहरण उम्मेदवारी दर्तामा प्रशस्तै देखिएका छन् । 

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया टिकटकै लागि एमाले भए । दल बदलेर उनी कपिलवस्तु–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भए । 

टिकटकै लागि जसपाका नेता मोहम्मद इस्तियाक राई र जसपा नेपालका नेता प्रदीप यादव एमालेमा गए । इस्तियाकको राजनीति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुरु भएको हो । २०६२/६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम प्रवेश गरे । अनेक पार्टी चाहर्दै उनी एमालेमा पुगेका छन् । 

जसपा नेपालका नेता तथा पूर्वमन्त्री प्रदीप यादव पनि दल बदलबदल गरिरहने नेता हुन् । प्रदीप यादव पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेका नेता हुन् । मधेश आन्दोलनको समयमा उनी पनि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश । पर्सा क्षेत्र नम्बर १ बाट २०७४ र २०७९ मा दुईपटक पर्साबाट संघीय सांसदमा निर्वाचित भए । उपेन्द्र यादवसँग असन्तुष्ट भएर अशोक राईले २०८१ वैशाखमा पार्टी फुटाएर जसपा बनाउँदा प्रदीप यादवले राईलाई साथ दिएका थिए । प्रतिनिधि सभा विघटन भएसँगै गत पुस १४ उनी पुनः उपेन्द्र नेतृत्वको जसपा नेपालमै फर्किए । जसपा नेपालमा फर्किएको २१ दिनमै प्रदीपले पार्टी बदलेका हुन् । 

पूर्वमन्त्री प्रदीप र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमानसँगै उनीहरू निकट अन्य नेता तथा कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह यादव पनि दल बदलेर चुनाव लड्दै छन् । २०७९ मा जनमतबाट प्रदेश सभा सदस्य जितेर मुख्यमन्त्रीसम्म भएका उनले यसपटक स्वाभिमान पार्टीबाट उम्मेदवार छन् । 

मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीले पनि पार्टी बदले । नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपाबाट उम्मेदवार बने । 

मधेश प्रदेशका अर्का नेता डा. अमरेशकुमार सिंह पनि टिकटकै लागि रास्वपा प्रवेश गरे । 

नेकपा एमाले नेता एवं पूर्वसांसद बृजेशकुमार गुप्ताले पार्टी छोडेर नेकपाबाट चुनाव चिह्न तारामा कपिलवस्तु क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

अनिल झा मंगलबार बिहानसम्म सद्भावना पार्टीका अध्यक्ष थिए । दिउँसो उम्मेदवारी दर्ता गर्नेबेलामा कांग्रेससँग सहमति गरे र कांग्रेसबाटै रौतहत निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिए ।
नेकपा एमालेका नेता अम्बिरबाबु गुरुङ पार्टीबाटै प्रतिनिधि सभा सदस्यको उम्मेदवारका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि नेपाली कम्युनिस्ट पार्टीबाट टिकट लिएर ओखलढुंगाबाट उम्मेदवारी दिए ।

यस्ता दर्जन बढी नेता छन् जसले उम्मेदवारी दर्ताको दिन पार्टी बदलेर उम्मेदवारी दर्ता गरेका हुन् । 

सम्बन्धित खबर