
काठमाडौं : सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी शेयर सदस्य रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । किसान सहकारीले आफ्ना शेयर सदस्यलाई छुट दिने गरी निसर्ग हस्पिटलसँग मंगलबार सम्झौता गरेर उपचारमा त्यस्तो छुट उपलब्ध गराउने भएको हो ।
निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बर बहादुर शाहले मंगलबार उपचारमा छुट दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
निसर्ग हस्पिटल धनगढीस्थित निजी क्षेत्रबाट सञ्चालित सुदूरपश्चिममै स्तरिय स्वास्थ्य सेवा दिइरहेको संस्था हो । २०५२ सालमा स्थापना भएको कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान सहकारी सुदूरपश्चिमका ९ वटा जिल्ला र बर्दियाको राजापुर नगरपालिकामा सेवा केन्द्र रहेको र ९३ हजारभन्दा बढी शेयर सदस्य रहेको सहकारी हो । सामाजिक सेवा अन्तर्गत निसर्ग र किसान सहकारीले स्वास्थ्य उपचारमा छुटको सम्झौता गरेका हुन् ।
किसान सहकारीका विभागीय प्रमुख दीपक ढुंगानाले शेयर सदस्यले जर्नल बेड हस्पिटल भर्नामा १५ प्रतिशत, क्याविन भर्नामा १० प्रतिशत, आइसियु बेडमा १२.५ प्रतिशत, एनआइसियु बेडमा १२.५ प्रतिशत छुट पाउने बताए । त्यस्तै, जर्नरल, सर्जरी, अर्थाेपेडिक, गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेुनमा १० प्रतिशत, पेथोलोजी सेवामा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, इसिजी इसिएचओ, टिएमटी, इन्डोस्कोपीमा १० र औषधि खरिदमा ५ प्रशिशत छुट पाउनेछन् ।
सहकारीले आफ्ना बिरामी शेयर सदस्यलाई उपचारका लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा किसान सहकारीका महाप्रबन्धक शाहले सहकारीले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको बताए । आगामी दिनमा सदस्यलाई अन्य सेवाहरुमा छुट दिनका लागि अन्य क्षेत्रका सेवाप्रदायकहरुसँग समेत सम्झौता गर्ने संस्थाको योजना रहेको छ ।
हाल संस्थाले किसान–कोप वित्तीय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी ३ वटा व्यावसायिक सेवाहरू सदस्यलाई दिँदै आएको छ । संस्थाको कुल कारोबार ७ अर्ब २० करोडको रहेको छ ।